कृषकलाई क्षतिपूर्ति दिन एकीकृत समाजवादीको माग
वि.सं.२०७८ कात्तिक ३ बुधवार १३:०२

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा भएको जनधनको क्षतिप्रति चिन्ता व्यक्त गरेको छ । पार्टीका प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले बुधबार जारी गरेको विज्ञप्तिमा धान बाली सहित विभिन्न कृषि कार्यमा भएको क्षतिको यथोचित मूल्यांकन गरी पीडित कृषकलाई राहत र क्षतिपूर्ति दिनका निम्ति सरकारसमक्ष जोडदार माग गरिएको छ ।
यसैगरी बाढी, पहिरो र सडक दुर्घटनाका कारण ज्यान गुमाउने सम्पूर्ण मृतकप्रति पनि एकीकृत समाजवादीले श्रद्धाञ्जली व्यक्त गरेको छ । विज्ञप्तिमा डुबान समस्या र सडक दुर्घटनामा परी घाइते तथा विभिन्न समस्यामा परेकाको उपचार, राहत र उद्धारका निम्ति देशभरका पार्टी कमिटी एवं जनसंगठनलाई परिचालित अध्यक्ष माधव कुमार नेपालले निर्देशन दिइसकेको पनि उल्लेख गरिएको छ ।
सो पार्टीले प्राकृतिक विपदको व्यवस्थापन तथा न्यूनीकरणका लागि अल्पकालीन तथा दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ।
वि.सं.२०७८ कात्तिक ३ बुधवार १३:०२
















