नेपाल बारले भन्यो : प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ
वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:३५

काठमाडौं : नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायपालिकाको सुधारका लागि ‘निकास दिन आग्रह गर्ने’ निर्णय गरेको छ ।
बारको आकस्मिक बैठकले प्रधानन्यायाधीशबाटै निकास हुनुपर्ने निर्णय गरेको हो ।‘हामीले उहाँबाट निकास हुनुपर्छ भन्ने निर्णय गरेका छौं’ बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘यसको औपचारिक निर्णय र सार्वजनिक भोलि हुन्छ । भोलि सबै सल्लाहकारहरुसँग बृहत छलफल गरेपछि निर्णय सार्वजनिक गर्छौं ।’
अध्यक्ष श्रेष्ठले ‘निकास दिने’ शब्दावलीको अर्थ मंगलबार मात्रै स्पष्ट हुने बताए । ‘हामीले अहिले उहाँले निकास दिनुपर्छ भनेका हौं’ अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘न्यायपालिकाभित्रै मिलाउन सक्नुभएन । उहाँको काम कारवाहीमा अरु सहकर्मीहरु नै असन्तुष्ट बने । यसले त उहाँबाट नेतृत्व हुनसक्ने देखिएन नि ।
त्यसैले निकास दिनुपर्छ भनेका हौं । यति भनिसकेपछि पनि निकास के हो ? निकास के हो ?? भन्नै पर्दैन । स्पष्ट छ ।’उनले बारको आकस्मिक बैठकबाट भएको यो निर्णय मंगलबारको सल्लाहकार परिषदको बैठकपछि थप परिपक्व हुने बताए । त्यसपछि निर्णय सार्वजनिक गरिने अध्यक्ष श्रेष्ठको भनाइ छ । मंगलबारकै छलफलमा कसरी अघि बढ्ने भन्नेबारे पनि तय हुने उनले बताए ।
वि.सं.२०७८ कात्तिक ८ सोमवार १६:३५
















