किशोरी जन्मेको अस्पतालबाट काजगात मगाएर जन्म मिति निरुपण गर्ने
किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टर र क्रिकेटर देव खनाललाई समेत बकपत्रका लागि बोलाइयो
वि.सं.२०७९ पुस १२ मंगलवार १७:३५

काठमाण्डौं–क्रिकेटर सन्दीप लामिछाने विरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद निरुपण गर्न किशोरीको जन्म भएको भनिएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेस्बासेको इजलासले अस्पतालबाट जन्म दर्ताको कागजात झिकाउने आदेश दिएको हो ।
सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार तीन वटा आदेश गरेको छ । अदालतको आदेशमा किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने आदेश गरेको हो ।
किशोरीको जन्म हुँदा उनीहरु वीरगञ्जमा रहेको र त्यहीँको नारायणी अस्पतालमा किशोरीको जन्म भएको दावी गरिएको छ । सन्दीपक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो । त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर उल्लेख गरिएको सन्दीपपक्षका वकिलले दावी गरेका छन् ।
मंगलबारकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ । जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले अब बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा आउनुपर्नेछ ।
त्यसैगरी किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश भएको छ । अधिवक्ता घिमिरेका अनुसार मंगलबारको सुनुवाइपछि यी तीनवटा विषयमा बुझ्ने आदेश भएको हो ।
वि.सं.२०७९ पुस १२ मंगलवार १७:३५

















