निर्णायक सहमतिका लागि ६ सदस्यीय वार्ता टोली काठमाडौं प्रस्थान, अन्य मिटरब्याज पीडित निजगढमै
बिदाइपछि वार्ता टोली राजधानीतर्फ, लिखित ६ बुँदे सहमति नभएसम्म आन्दोलन नरोकिने अडान
वि.सं.२०८३ असार ३२ बिहीवार १५:०६

निजगढ-सरकारसँग जारी वार्तालाई निर्णायक निष्कर्षमा पुर्याउने उद्देश्यसहित मिटरब्याजविरुद्ध किसान–मजदुर आन्दोलनले गठन गरेको ६ सदस्यीय औपचारिक वार्ता टोली आज निजगढबाट काठमाडौं प्रस्थान गरेको छ। टोलीलाई आन्दोलनरत पीडितहरूले भावुक वातावरणमा बिदाइ गरेका थिए।
केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन्।
वार्ता टोलीलाई बिदाइ गर्दै आन्दोलनरत पीडितहरूले “लिखित सहमति लिएर मात्र फर्किनुहोस्”, “हाम्रो न्यायको लडाइँ सफल बनाउनुहोस्” भन्दै समर्थन जनाएका थिए। टोली काठमाडौं प्रस्थान गरे पनि अन्य मिटरब्याज पीडितहरू भने निजगढमै बसेर आन्दोलनलाई निरन्तरता दिने जनाइएको छ।
मिटरब्याज पीडितहरू असार २५ गतेदेखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्चमा निस्किएका थिए। त्यसक्रममा बाराको निजगढमा सरकारसँग वार्ताको वातावरण बनेपछि हालसम्म गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता सम्पन्न भइसकेको छ।
यद्यपि आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित रूपमा वैधानिकता दिने विषयमा सहमति हुन नसक्दा वार्ता अझै निष्कर्षमा पुग्न सकेको छैन।
आन्दोलनरत पक्षले गृहमन्त्रीले स्वीकार गरिसकेको ६ बुँदे सहमति–पत्रको मस्यौदालाई जस्ताको तस्तै लिखित रूपमा हस्ताक्षर गरी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने अडान दोहोर्याएको छ। लिखित सहमति नभएसम्म पैदल न्याय मार्च नरोकिने र आवश्यक परे पुनः काठमाडौंतर्फ यात्रा अघि बढाइने चेतावनी पनि आन्दोलनले दिएको छ।
अब सरकारसँग हुने आगामी चरणको निर्णायक वार्तामा यही ६ सदस्यीय औपचारिक टोलीले मिटरब्याज पीडितहरूको प्रतिनिधित्व गर्नेछ। वार्ताको परिणामले आन्दोलनको आगामी दिशा तय गर्ने भएकाले पीडितहरू र सरोकारवालाको ध्यान काठमाडौंमा हुने छलफलतर्फ केन्द्रित भएको छ।
वि.सं.२०८३ असार ३२ बिहीवार १५:०६

















