सेनाका मेजरसँग विवाद भएको होटलका सञ्चालक पक्राउ
वि.सं.२०७८ कात्तिक २४ बुधवार १०:४०

धनगढी : कैलालीको टीकापुरमा मंगलबार राति चक्कु प्रहार गरेर युवकको हत्या गरिएको प्रकरणमा प्रहरीले अनुसन्धानका लागि कम्तीमा पनि ६ जनालाई पक्राउ गरेको छ ।
दुई समूह बीचको झडपमा मारिएका लम्की चुहा नगरपालिका-१ का भुपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आशंकामा घटनास्थलमा उपस्थित तीन र अन्य तीन गरेर ६ जनालाई नियन्त्रणमा लिइएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।
एसपी अधिकारीले चिसापानीस्थित संगम होटलका सञ्चालक हर्कबहादुर रावलका छोरा महेशले प्रयोग गर्दै आएको स्कुटर घटनास्थलमा भेटिएपछि अनुसन्धानका लागि रावल, उनकी श्रीमती र एकजना छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
रावलका अर्का छोरा नवीन फरार रहेकाले उनको खोजी भइरहेको उनले बताए ।प्रहरीकाअनुसार आइतबार नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोरङ्गेका मेजर अशोकजंग शाहीसँग होटलका सञ्चालक रावलको वादविवाद भएको थियो ।
आक्रोशित स्थानीयले ढुङ्गामुढा गरेर मेजरको निजी गाडीमा तोडफोड गरेका थिए भने उनको टाउकोमा पनि चोट लागेको थियो ।
आक्रोशित पीडितका आफन्तले बुधबार बिहान संगम होटलमा तोडफोड गर्ने प्रयास पनि गरेका थिए । तर सम्झाइबुझाइ गरेपछि उनीहरु फर्किएको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ कात्तिक २४ बुधवार १०:४०

















