मालपोत कार्यालय जलेश्वरका सुब्बासहित २ जना अख्तियारको नियन्त्रणमा
वि.सं.२०७९ फागुन १८ बिहीवार १९:३६

जनकपुरधाम-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले मालपोत कार्यालय जलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुसबापत लिइएको नगद ९ हजारसहित मालपोत कार्यालयका सुब्बा र एक लेखापढी व्यवसायीलाई पक्राउ गरेको हो ।
आयोगको टोलीले नायब सुब्बा रामकृष्ण पण्डित र सुवास भू सेवा केन्द्रका लेखापढी व्यवसायी सुवासचन्द्रलाल कर्णलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन् । उनीहरुले जग्गाको नामसारी गराइदिने मुद्दाका विषयमा घुसबापत उक्त रकम लिएको प्रवक्ता दाहालले जनाए ।
पक्राउ परेका पण्डित जलेश्वर नगरपालिका ११ का स्थायी बासिन्दा हुन् भने कर्ण सम्सी गाउँपालिका ७ का बासिन्दा हुन् । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रवक्ता दाहालले बताए ।
वि.सं.२०७९ फागुन १८ बिहीवार १९:३६

















