शितलहरबाट प्रभावितलाई राहत : डिभिजन वन कार्यालय बाराद्वारा नि:शुल्क दाउरा वितरण सुरु
वि.सं.२०८२ पुस १५ मंगलवार २२:०१

बारा-बढ्दो शितलहरबाट प्रभावित सर्वसाधारणलाई सामान्य राहत उपलब्ध गराउने उद्देश्यले डिभिजन वन कार्यालय बाराले जिल्ला प्रशासन कार्यालय बाराको समन्वयमा नि:शुल्क दाउरा वितरण तथा आगो ताप्ने व्यवस्था मिलाउने कार्य सुरु गरेको छ।
हिजोदेखि सुरु भएको उक्त राहत कार्य नेपाली सेना लगायतका सुरक्षा निकायहरूको सक्रिय सहयोगमा बारा जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेको छ। चिसोका कारण दैनिक जीवन कष्टकर बन्दै गएपछि विपन्न, ज्येष्ठ नागरिक तथा खुला स्थानमा बसोबास गर्ने व्यक्तिलाई लक्षित गरी दाउरा वितरण गरिएको डिभिजन वन कार्यालय बाराले जनाएको छ।
यस मानवीय कार्यमा सहयोग पुर्याउने सम्पूर्ण सुरक्षा निकाय, कर्मचारी तथा सम्बन्धित निकायप्रति डिभिजन वन कार्यालय बाराले विशेष धन्यवाद व्यक्त गरेको छ।
यसैबीच, कार्यालयले बारा जिल्लाका सबै स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापनको अंगका रूपमा जिल्ला वन पैदावार आपूर्ति समिति बाराबाट सहुलियत दरमा दाउरा खरिद गरी नागरिकमा वितरण गर्न अनुरोध गरेको छ।
त्यसैगरी, बारा जिल्लामा रहेका सम्पूर्ण सामुदायिक वन उपभोक्ता समूह तथा साझेदारी वन उपभोक्ता समूहहरूलाई आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत सामाजिक कार्य वा आकस्मिक कार्य शीर्षकको बजेट प्रयोग गरी सम्बन्धित सब–डिभिजन, सुरक्षा निकाय र स्थानीय तहसँग समन्वय गरेर दाउरा वितरण गर्न–गराउन आग्रह गरिएको छ।
चिसो अझै केही दिन रहने सम्भावना रहेकाले राहत कार्यलाई थप प्रभावकारी बनाउने तयारी भइरहेको डिभिजन वन कार्यालय बाराले जनाएको छ।
वि.सं.२०८२ पुस १५ मंगलवार २२:०१

















