बारागढी गाउँपालिकामा अध्यक्ष जयसवालद्वारा १ हजार विद्युतिय र सुधारिएको चुलो वितरण
वि.सं.२०८२ माघ २ शुक्रवार १५:१६

बारा–बारागढी गाउँपालिकाले स्वच्छ ऊर्जा प्रवर्द्धन तथा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै १ हजार थान चुलो वितरण गरेको छ । जसअन्तर्गत चार सय थान विद्युतिय चुलो र छ सय थान सुधारिएको चुलो लाभग्राही परिवारलाई प्रदान गरिएको हो ।
वैकल्पिक उर्जा प्रवर्धन केन्द्र, बारागढी गाउँपालिका र लाभग्राहीको लागत साझेदारीमा विद्युतिय र सुधारिएको चुलो वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक जयसवालले एक कार्यक्रमका बीच चुलो हस्तान्तरण गर्दै परम्परागत चुलोका कारण हुने धुवाँजन्य स्वास्थ्य समस्या, दाउराको अत्यधिक प्रयोग तथा वातावरणीय असर न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुने बताएका छन् । उनले स्वच्छ ऊर्जाको प्रयोगले विशेषगरी महिलाको स्वास्थ्य, समय बचत र वातावरण संरक्षणमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
गाउँपालिकाका अनुसार यो कार्यक्रम दिगो विकास लक्ष्यअनुसार सञ्चालन गरिएको हो । आगामी दिनमा पनि स्वच्छ ऊर्जा प्रवर्द्धन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अध्यक्ष जयसवालले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
वि.सं.२०८२ माघ २ शुक्रवार १५:१६

















