skip this farak Kura Pravakar

निजगढका महिलाको स्वादिलो उद्यमः ‘रसिलो अचार’

156 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढमा केही महिलाहरूको मेहनतले स्थानीय उत्पादनलाई ब्राण्ड बनाउने प्रयास गरिरहेको छ । आठ जना महिलाले सञ्चालन गरेको ‘रसिलो अचार’ अहिले स्थानीय बजारमा लोकप्रिय बन्दै गएको छ ।

निजगढ–९ मा सञ्चालन भइरहेको रसिलो अचार लघु उद्यमी समूहले माग अनुसार अचार उत्पादन गर्दै आएको छ । समूहले स्थानीय बजारसँगै विभिन्न महोत्सवमा पनि आफ्ना उत्पादन बिक्री गर्दै आएको छ ।

महिलाहरू मिलेर उत्पादन गरिएको अचारले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको समुहकी उपाध्यक्ष ज्योती अधिकारीले बताईन् । महिनामा २५ देखि ३० हजारसम्म बिक्री भइरहेको छ र तर अझै बजार व्यवस्थापनको समस्या रहेको बताईन् । उनले भनिन्–उत्पादनलाई निरन्तरता दिए पनि अपेक्षाअनुसार आम्दानी लिन सकेका छैनौँ ।

समूहले अहिलेसम्म अचार बिक्रीबाट करिब दुई लाख रुपैयाँ मुनाफा आर्जन गरिसकेको छ । व्यवसायिक सफलताको लक्ष्यसहित महिलाहरू निरन्तर मेहनत गरिरहेका छन् ।
उत्पादन बढ्दो भए पनि स्थायी बजारको अभाव समूहको मुख्य चुनौती बनेको उपाध्यक्ष अधिकारी बताउँछिन् ।

निजगढ नगरपालिकाको लघु उद्यम शाखाले समूहलाई दुई पटक तालिम प्रदान गरेको छ । अचार उत्पादन तथा प्याकेजिङका लागि आवश्यक उपकरणसमेत सहयोग गरिएको छ ।

महिलाहरूलाई समूहमार्फत आत्मनिर्भर बनाउन नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको लघु उद्यम शाखा प्रमुख शुसिला रौनियारले बताईन् । उनले भनिन्–“उत्पादनलाई गुणस्तरीय बनाउन खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रशिक्षकबाट तालिम दिएका छौँ । समूहको आवश्यकताअनुसार प्रविधि सहयोग पनि गर्दै जानेछौँ ।”

स्थानीय सीप, सामूहिक मेहनत र नगरपालिकाको सहयोगले ‘रसिलो अचार’ निजगढको पहिचान बन्दै गएको छ । उचित बजार व्यवस्थापन र थप प्रोत्साहन पाए यी महिलाहरूको उद्यम अझ सफल बन्ने अपेक्षा गरिएको छ ।

nijgadh-supermart-adz1200-630