skip this

अदालतको फैसला पछि वीरगञ्ज सडक विस्तार अघि बढ्दै, भोलीदेखि कार्यान्वयन

483 shares
oil-nigam-amlekhgunj-adv.jpeg

वीरगञ्ज-लामो समयदेखि विवाद र अन्योलमा रहेको वीरगञ्जको मुख्य सडक विस्तारको काम अन्ततः सुरु हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौंडाका अनुसार त्रिभुवन राजपथअन्तर्गत गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तार अभियान भोली बिहानबाट औपचारिक रूपमा थालिनेछ।

यस योजनाअनुसार सडकको दायाँ–बायाँ २५–२५ मिटर क्षेत्र विस्तार गरिनेछ। प्रमुख जिल्ला अधिकारी भोलाप्रसाद दाहालले जानकारी दिँदै सडकको केन्द्ररेखाबाट २५ मिटरभित्र पर्ने घर, टहरा र अन्य संरचना हटाउने प्रक्रिया तत्काल सुरु गरिने बताए। कार्यान्वयनका लागि आवश्यक डोजर, जेसीबी र एक्साभेटरसहित नौवटा उपकरण वीरगञ्जमा ल्याइसकिएको छ।

कामलाई तीव्र बनाउन एकैसाथ पाँच स्थानबाट विस्तार सुरु गर्ने तयारी गरिएको छ। यसका लागि महानगरपालिका, सुरक्षा निकाय तथा सम्बन्धित निकायबीच समन्वय भइरहेको प्रशासनले जनाएको छ।

उक्त परियोजना सर्वोच्च अदालतको २०८१ फागुन २८ गतेको फैसलापछि अघि बढ्न सम्भव भएको हो। अदालतले सडक विस्तारको पक्षमा निर्णय गर्दै रिट खारेज गरेपछि करिब १३ वर्षदेखि रोकिएको कामले गति लिन लागेको हो। यसअघि करिब १२०० घरधनीले मुआब्जा र वैकल्पिक सडकको माग गर्दै मुद्दा दायर गरेका थिए।

अब प्रशासनले चरणबद्ध रूपमा संरचना हटाउँदै सडक विस्तारलाई अगाडि बढाउने तयारी गरेको छ, जसले वीरगञ्जको यातायात व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।

nijgadh-supermart-adz1200-630