‘निजगढ कोरा–२०८३’ आयोजना हुँदै, १५० बढी साइकल राइडर सहभागी हुने
वि.सं.२०८३ साउन १ शुक्रवार १८:४०

बारा-निजगढमा साइकल संस्कृतिको प्रवर्द्धन, स्वस्थ जीवनशैलीको विकास तथा स्थानीय धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने उद्देश्यले ‘निजगढ कोरा–२०८३’ आयोजना गरिने भएको छ।
निजगढ राइडर्स क्लब, निजगढको आयोजनामा हुने उक्त कार्यक्रम २०८३ साल साउन २ गते शनिबार बिहान ७:०० बजे निजगढ नगरपालिका कार्यालय परिसरबाट सुरु भई निजगढ–१३ स्थित शक्तेश्वर मन्दिर, शक्तिखोलामा पुगेर समापन हुनेछ।
आयोजकका अनुसार कार्यक्रममा निजगढ, सिमरा, चन्द्रपुर तथा हेटौंडाबाट करिब १५० जना साइकल राइडरहरूको सहभागिता रहनेछ। राइडमार्फत निजगढ नगरपालिकाका १३ वटै वडाको अवलोकन गरिनेछ।
क्लबका उपाध्यक्ष भुपेन्द्र सापकोटाका अनुसार साइकल केवल यातायातको साधन मात्र नभई दिगो विकास, सार्वजनिक स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सद्भावको महत्वपूर्ण आधार भएकाले यसको संस्कृतिलाई समुदायस्तरमै विस्तार गर्न आवश्यक रहेको बताए।
कार्यक्रमको मुख्य उद्देश्य नागरिकमा स्वस्थ जीवनका लागि साइकल चलाउने बानीको विकास, साइकल संस्कृतिको प्रवर्द्धन, तथा निजगढ क्षेत्रका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको अवलोकन एवं प्रचारप्रसार गर्नु रहेको आयोजकले जनाएको छ। यस अभियानले स्थानीय पर्यटन प्रवर्द्धनसँगै नगरका सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचानलाई राष्ट्रिय स्तरसम्म पुर्याउने विश्वास लिइएको छ।
राइडका क्रममा सहभागीहरूले निजगढका विभिन्न धार्मिक तथा पर्यटकीय गन्तव्यहरूको अवलोकन गर्दै ती स्थानहरूको महत्वबारे आम नागरिकलाई जानकारी गराउनेछन्। यसले स्थानीय पर्यटन विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण निजगढवासी, विभिन्न संघ–संस्था, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा साइकलप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई ‘निजगढ कोरा–२०८३’ लाई भव्य र ऐतिहासिक बनाउन आग्रह गरेको छ।
कार्यक्रमबारे थप जानकारी वा सहकार्यका लागि आयोजकसँग सम्पर्क गर्न सकिने जनाइएको छ। अध्यक्ष रामचन्द्र स्याङ्तानले सबैको साथ र सहयोगले यस अभियानलाई सफल बनाउँदै “हाम्रो निजगढ, राम्रो निजगढ” भन्ने नारालाई व्यवहारमा उतार्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
वि.सं.२०८३ साउन १ शुक्रवार १८:४०

















