skip this

रसुवा बाढीपीडितका लागि कलैया उपमहानगरपालिकाको ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग

63 shares
oil-nigam-amlekhgunj-adv.jpeg

कलैया-रसुवा जिल्लामा गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि कलैया उपमहानगरपालिकाले ७७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गर्ने भएको छ ।

कलैया उपमहानगरपालिकाको नगर कार्यपालिकाको भदौ २४ गते बसेको बैठकले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

उपमहानगरपालिकाका अनुसार बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित नागरिकको गास, बास, कपाससहित पुनःस्थापना र पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले रकम उपलब्ध गराउने निर्णय गरिएको हो ।

सहयोग रकममध्ये नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी र विद्यालयका शिक्षक तथा कर्मचारीको तर्फबाट ५३ लाख ६२ हजार १ सय ५ रुपैयाँ ९३ पैसा संकलन हुनेछ ।

त्यस्तै, सम्पूर्ण जनप्रतिनिधिको १५ दिन बराबरको सेवा–सुविधा वापत ८ लाख ४ हजार ५ सय रुपैयाँ र उपमहानगरपालिकाको नगर विपद् कोषबाट १६ लाख ११ हजार १ सय ७१ रुपैयाँ ७ पैसा उपलब्ध गराइनेछ ।

कर्मचारीतर्फ योगदान गर्दा तहअनुसार फरक–फरक दिनको सेवा–सुविधा बराबरको रकम कट्टा गर्ने व्यवस्था गरिएको छ । सहसचिव तहका कर्मचारीबाट १० दिन, उपसचिव तथा अधिकृत तहबाट ७ दिन, चौथो र पाँचौँ तहका सहायक कर्मचारीबाट ५ दिन, श्रेणीविहीन कर्मचारीबाट २ दिन तथा दैनिक ज्यालादारी कर्मचारीबाट १ दिन बराबरको रकम योगदान गरिने जनाइएको छ ।

शिक्षकहरुको योगदानसमेत कर्मचारीको तहसँग समानता कायम हुने गरी निर्धारण गरिएको छ ।

उपमहानगरपालिकाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

विपद्को यस दुःखद् घडीमा राहत, खोज तथा उद्धार, समन्वय, सहजीकरण र पुनःस्थापनाका कार्यमा सम्बन्धित सबै पक्षसँग सहकार्यका लागि पनि उपमहानगरपालिकाले आग्रह गरेको छ ।

नगर प्रमुख बिनोदप्रसाद साहले विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारमा स्थानीय सरकारको तर्फबाट ऐक्यबद्धता जनाउँदै सहयोग रकम उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका छन् ।

nijgadh-supermart-adz1200-630