अमेरिकाबाट फर्किएका कुमार कार्कीको खेलप्रेम : निजगढका दुई फुटबल क्लबलाई खेल सामग्री सहयोग
वि.सं.२०८३ मंसिर ८ मंगलवार २१:४१

निजगढ-झण्डै दुई दशकदेखि अमेरिकामा बस्दै आएका बाराको निजगढ नगरपालिका–९ का कुमार कार्कीले स्वदेश फर्किएको अवसरमा स्थानीय फुटबल खेलाडी तथा क्लबलाई खेल सामग्री सहयोग गरेका छन् ।
विद्यार्थी जीवनमा फुटबलबाट खेल यात्रा सुरु गरेका कार्कीले पछि तेक्वान्दो खेलमा आफ्नो पहिचान बनाएका हुन् । खेलकुदप्रति निरन्तर लगाव राख्दै आएका उनले निजगढमा फुटबलको भविष्य खोजिरहेका युवा खेलाडी तथा फुटबलप्रेमीलाई प्रोत्साहन गर्ने उद्देश्यले खेल सामग्री उपलब्ध गराएका हुन् ।
निजगढस्थित शहीद हिरालाल रंगशालामा आयोजित कार्यक्रममा कार्कीले निजगढ फुटबल क्लब र निजगढ भेट्रान्स क्लबलाई फुटबल, जर्सी र गोलकिपरका ग्लोभ्स हस्तान्तरण गरेका छन् ।

उनले निजगढ फुटबल क्लबलाई १२ थान फुटबल, २० थान जर्सी र एक सेट गोलकिपर ग्लोभ्स क्लबका कार्यवाहक अध्यक्ष दिनेश श्रेष्ठलाई हस्तान्तरण गरे । त्यसैगरी, निजगढ भेट्रान्स क्लबलाई दुई थान फुटबल, २० थान जर्सी र एक सेट गोलकिपर ग्लोभ्स क्लबका अध्यक्ष विदुर खड्कालाई प्रदान गरेका हुन् ।
अमेरिकामा रहेर पनि आफ्नो जन्मभूमि र नेपाली खेलकुदप्रति माया दर्शाउँदै आएका कार्कीले आगामी वर्षहरूमा समेत स्थानीय फुटबलको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
खेल सामग्री सहयोगप्रति आभार व्यक्त गर्दै निजगढ फुटबल क्लबका कार्यवाहक अध्यक्ष दिनेश श्रेष्ठले कार्कीलाई धन्यवाद दिएका थिए । विदेशमा रहेर पनि आफ्नो ठाउँको खेलकुद विकासमा चासो राख्दै गरेको सहयोगले स्थानीय खेलाडीलाई थप उत्साह र प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
वि.सं.२०८३ मंसिर ८ मंगलवार २१:४१
















