skip this farak Kura Pravakar

अभिनेता शाहले प्रहरीमा दिए बलात्कार नगरेको बयान

पल शाहका म्यानेजरद्वारा ५० लाखको लोभ देखाएको, 'मान्छे मार्न केहीजस्तो लाग्दैन भन्दै धम्क्याएको' स्वीकार

1.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । अभिनेता पल शाहले नाबालिग गायिकालाई बलात्कार गरी उजुर नगर्न पटकपटक प्रयाससमेत गरेको जिकिर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। शाहलाई बलात्कार गरेको अभियोग र उनका म्यानेजर कृष्ण जोशीलाई बलात्कारका मतियार भएको अभियोग सरकारले लगाएको छ।

उनीहरू म्युजिक भिडिओ सुटिङका दौरान गत वैशाख १४ गते तनहुँको दुलेगौंडास्थित प्रदीप थापाको घरमा बास बसेका थिए। सोही रात शाहले नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ।

बलात्कारमा पर्ने बेला गायिका १५ वर्ष ९ महिनाकी मात्र भएकाले शाहलाई १२ देखि १४ वर्षसम्मको कैद सजाय हुनुपर्ने माग सरकारी वकिल कार्यालयले माग गरेको छ। १४ देखि १६ वर्षसम्मका नाबालिगलाई बलात्कार गरे १२ देखि १४ सम्मको कैद हुने मुलुकी फौजदारी संहिताले गरेको छ। मतियारका रूपमा पेस गरिएका जोशीलाई भने शाहलाई हुने सजायको आधासम्म कैद सजाय गर्न माग गरिएको छ।

मुद्दा दायरसँगै अदालतले मंगलबार नै शाहको बयान लिएको छ। जोशीसँग भने बुधबार बयान लिने अदालतको तयारी छ।

तनहुँ प्रहरीका अनुसन्धान अधिकृतलाई दिएको बयानमा शाहले बलात्कार अस्वीकार गरेका छन्। उनले मध्यरात नाबालिग गायिका सुतेको कोठामा गएर आफूले खाएर बाँकी रहेको बियर दिएर फेसवास लिएर फर्किएको बयान दिएका छन्।

‘राती अबेरसम्म बियर खाँदै पीडित र मैले म्यासेज आदानप्रदान गर्दै अन्दाजी ११ः४५ बजेतिर हामीले खाएर बाँकी रहेको बियर लिएर पीडित सुतेको कोठामा गई ढोका धकेली भित्र पसी निजलाई बियर खान दिई, फेसवास लिएर म आफ्नो कोठामा गई कमल खत्रीसँग सुतेको हुँ,’ शाहले बयानमा भनेका छन्।

प्रहरीले लिएको बयानमा गायक खत्रीले भने आफू पहिल्यै सुत्न गएको र शाह कति बेला आफू सुतेको कोठामा आएर सुते भन्ने थाहा नभएको बताएका छन्।

नाबालिगले गत जेठ अन्तिममा फोन गरेर आफ्नो महिनावारी रोकिएको बताएको पलले बयानमा भनेका छन्। त्यसपछि घटना मिलाउन असारमा पीडित, उनकी आमा, गायक दुर्गेश थापा, सरोज ओली, योगेश काजी र शाहका म्यानेजर जोशी बसेर छलफल गरी विवाह गर्ने सहमति भएको समेत शाहले बयानमा बताएका छन्।

‘तपाईं र मेरो सम्बन्ध अरूले थाहा पाए, मलाई गाह्रो भयो, मेरो महिनावारी रोकियो, तपाईंले मलाई स्वीकार्नु पर्छ भन्ने शब्दहरू म्यासेजमा मलाई पठाएकी थिइन्,’ शाहले बयानमा भनेका छन्, ‘पीडित पक्षले मलाई विवाह गर्नुपर्छ भनेकाले मैले पीडितको उमेर पुगेपछि विवाह गरौंला, अहिले उमेर पुगेको छैन भनेको थिएँ।’

बलात्कार अस्वीकार गरेका पलले ‘गर्लफ्रेन्ड–ब्याइफ्रेन्डबीच हुनु भनेको नर्मल हो’ भन्ने सार्वजनिक अडिओ रेकर्ड आफ्नो भएको स्वीकारेका छन्। प्रहरीले लिएको बयानका क्रममा शाहले बलात्कार घटना कानुनी उपचारमा जान नदिन आर्थिक प्रलोभनदेखि ज्यान लिने धम्कीसम्म दिएको उल्लेख छ। शाहका तर्फबाट म्यानेजर जोशीले उक्त भूमिका खेलेको बयानमा बताएका छन्।

जोशी सुरूमा मासिक २५ हजार रूपैयाँ तलब लिएर शाहका म्यानेजर बनेका थिए। नाबालिग बलात्कारका घटना मिलाउन भन्दै शाहले दोब्बर तलब, मासिक ५० हजार दिएपछि म्यानेजर बसेको जोशीले बयानमा भनेका छन्। त्यसपछि बलात्कारका घटना मिलाउन आफूले भूमिका खेलेको उनले स्वीकारेका छन्।

जोशीले नाबालिगलाई कानुनी कारबाहीमा जानबाट रोक्न उनका आफन्तलाई ५० लाख दिनेदेखि गीतसंगीतमा सहयोग गर्ने प्रलोभन दिएको स्वीकारेका छन्। उक्त प्रलोभन अस्वीकार गर्दा पीडितका आफन्तलाई ज्यान मार्ने धम्कीसमेत दिएको पनि उनले स्वीकारेका छन्।

झुटो प्रेमको प्रलोभनमा पारेर पटकपटक बलात्कार गरेको भन्दै पीडित नाबालिगका परिवारले शाहविरूद्ध गत फागुन ११ गते तनहुँ प्रहरीमा र १५ गते नवलपुर प्रहरीमा उजुरी दिएका थिए। उजुरी परेपछि बेपत्ता भएका शाहले फागुन १५ गते तनहुँ प्रहरीमा आत्मसमर्पण गरेका थिए।

जाहेरीमा शाहले पोखरा, तनहुँ, नवलपुर लगायत ठाउँमा बलात्कार र यौन दुर्व्यवहार गरेको आरोप छ। गायिकाले करिब ३ महिनायता गीतसंगीतमा ध्यान दिन नसकेको र यसबारे बुझ्दा घटनाबारे जानकारी पाएको जाहेरीमा उल्लेख छ।

बाग्लुङको गलकोट महोत्सवमा २०७७ चैत ३१ गते शाहसहित दुर्गेश थापा, योगेस काजी, सम्राट चौलागाईं, कृष्ण जोशी र अरू कलाकारसँग एउटै गाडीमा जाँदा पीडित गायिका र शाह एउटै सिटमा बसेका बेला शाहले बालयौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ।

पोखरामा सुटिङबाट काठमाडौं फर्किने क्रममा तनहुँको दुलेगौंडामा प्रदीप थापाको घरमा बास बसेको र शाहले मदिरापान गरेर मध्यरातमा जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।

यसअघि पोखरास्थित होटल प्राइम, चितवनस्थित गैंडाकोट रिसोर्टमा समेत शाहले पटकपटक बलात्कार गरेको पीडित पक्षले जनाएका छन्। गायिकाको कोठामा दिनहुँ आउजाउ गर्न शाहले कोठा सार्न समेत दबाव दिएको उल्लेख छ।

तनहुँ प्रहरीले पललाई हिरासतमा लिएर २३ दिन लगाएर सोमबार मिसिल जिल्ला सरकारी वकिलको कार्यालय तनहुँमा बुझाएको थियो। बलात्कार मुद्दा हदबन्दीका कारण नवलपुर प्रहरीले भने यसअघि नै मुद्दा दायर गरिसकेको छ।

तनहुँमा थुनछेक बहस सकिएपछि पललाई नवलपुर अदालतमा उपस्थित गराएर थुनछेक बहस गरिने नवलपुरका सरकारी वकिल डालबहादुर नेपालीले बताए।

nijgadh-supermart-adz1200-630