skip this hetauda tech

कर्णालीमा चुनावको तयारी अन्तिम चरणमा, सुरक्षा व्यवस्था कडा पारियो

567 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। कर्णाली प्रदेशमा चुनावको तयारी अन्तिम चरणमा पुगेको छ । १० वटै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ भने कर्मचारी मतदान केन्द्र पुगेका छन् । मतपत्रसहितका सामग्री पनि पुगिसकेको जनाइएको छ । मतदान केन्द्र निर्माण भइरहेका छन् । आइतबार बिहान ७ बजेबाट मतदान हुनेछ ।

कर्णालीमा १४ हजार ८०७ सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रदेश प्रहरी प्रवक्ता माधवप्रसाद श्रेष्ठका अनुसार पाँच हजार सात सय २९ जना नेपाल प्रहरी र नौ हजार ७८ जना म्यादी प्रहरी गरी १४ हजार ८०७ जना सुरक्षाकर्मी परिचालन  भएका हुन् ।  मतदानस्थल रहेको वडा क्षेत्रमा पैदल गस्ती, प्रत्येक नगरपालिका तथा गाउँपालिकामा प्रहरी अधिकृतको कमान्डमा गाडी मोबाइल गस्ती र रिजर्भ टोलीसमेतको व्यवस्था गरी सुरक्षा प्रबन्ध मिलाएको छ । कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता छन् भने १ हजार ४ सय ७६ मतदान केन्द्र छन् ।

कर्णालीमा सुरक्षाका दृष्टिकोणले ३ सय ४५ मतदान केन्द्र अतिसंवेदनशीलमा राखिएको छ भने ४ सय १३ मतदान केन्द्र संवेदनशील रहेका छन् । माथिल्लो कर्णालीका जिल्लामा हिमपात सुरु भएका कारण हेलिकप्टर मतपेटिका ढुवानी तथा निर्वाचन सामग्री ओसारपसार गरिएको निर्वाचन आयोगले जनाएको छ । 
सुर्खेत जिल्लाभर सशस्त्र प्रहरीको १२ वटा मोबाइल टोली परिचालन गरिएको छ । सशस्त्र प्रहरीकै चार वटा स्ट्राइकर फोर्स र दुइटा निर्वाचन सुरक्षा बेस परिचालन गरिएको छ । सुर्खेतका १३९ स्थायी मतदान स्थल, दुइटा अस्थायी मतदान स्थल अन्तर्गतका २९३ वटा मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगिसकेका छन् ।

चीनको तिब्बतसँग जोडिएका कर्णालीका सीमा नाका बिहीबार राती १२ बजेदेखि नै बन्द गरिएको छ । निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थालाई कडाइका लागि कर्णाली र तिब्बतसँग जोडिएका सीमा नाका बन्द गरिएको हो । चीनको तिब्बतसँग नाका जोडिएका कर्णाली प्रदेशका हुम्ला र डोल्पा जिल्लाका सीमा नाकामा सुरक्षा व्यवस्थालाई कडाइ पारिएको हो । हिमाली जिल्ला हुम्लामा चीनसँग जोडिएका सीमा नाका बन्द गरिएको हो ।

nijgadh-supermart-adz1200-630