बालबालिकामा लगानी बढाउन अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको आग्रह
वि.सं.२०७९ पुस २ शनिवार १६:५४

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले समाज रुपान्तरणका लागि बालबालिकामा लगानी बढाउनुपर्ने बताएका छन् । लुः निभा बाल सरोकार समूहको रजत जयन्ती समापन कार्यक्रममा अध्यक्ष तिमल्सिनाले आजका बालबालिका नै भोलि देशको भविष्य भएकाले उनीहरुको अधिकार संरक्षण र संवद्र्धनका लागि राज्य पूर्ण रुपमा जिम्मेवार भएको बताउएका छन्।
कार्यक्रममा समाजसेवी राधिका शाक्य र वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ, मानव अधिकारकर्मी गौरी प्रधान, ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मन्जली शाक्य, गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उपप्रमुख मुना अधिकारी, कोन्ज्योसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामा, उपाध्यक्ष राजनप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
बाल क्लबबाट सुरु भएको सो संस्थाले बालबालिकाको हक, अधिकार संरक्षण र संवद्र्धनका लागि कार्य गर्दै आएको छ । जयन्तीका अवसरमा सांस्कृतिक नृत्य, बालगीत र अपाङ्गता भएका बालबालिकाको प्रस्तुतिसहितको कार्यक्रम गरिएको थियो । ललितपुरको खोकनाबाट शिक्षाको चेतना जगाउने अभिप्रायले गठन गरिएको सो समूह अहिले राष्ट्रियस्तरमा स्थापित भइसकेको छ ।
सो संस्थाले ललितपुर महानगरपालिका–१८, २१, २२ र २५ सँगको सहकार्यमा चित्रकला प्रतियोगिता समेत आयोजना गरेको थियो । सो प्रतियोगितामा सफल हुने विद्यार्थी प्रथम, द्वितीय, तृतीय र सान्त्वनातर्फ क्रमशः ऋतिका सुनुवार, अमिषा कुमारी, देवी थापा र रिश्वम तुलाधरलाई सम्मान गरिएको छ । जयन्तीका उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रमपनि सम्पन्न गरिएको छ । सो अवसरमा लू निभाः का कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले लू निभाःको २५ वर्षको उपलब्धि र भावी कार्यदिशा सार्वजनिक गर्नुभएको थियो ।
–––
वि.सं.२०७९ पुस २ शनिवार १६:५४
















