मुख्यमन्त्रीले गरे आगलागीबाट क्षति भएको निजगढ सामुदायिक अस्पतालको ल्याब निरीक्षण
वि.सं.२०८० मंसिर १३ बुधवार १५:२६

बारा–मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निजगढ–९ देउरालीपथस्थित निजगढ सामुदायिक अस्पताल प्रसुति गृहको मंगलवार निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री यादवले गत कातिक २६ गते राती लक्ष्मी पूजाको दिन आगलागीबाट क्षति भएको प्रयोगशालासहित अस्पतालको विरामी उपचार कक्ष, शल्यक्रिया कक्ष र फार्मेसीको निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि मुख्यमन्त्री यादवले आगलागीबाट भएको क्षतिको विवरण आफूले प्राप्त गरिसकेको र अस्पतालमा ल्याब स्थापना गर्न तत्काल सहयोग गर्ने बताए । ‘ल्याबलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराउन विभागीय मन्त्रीलाई निर्देशन दिईसकेको छु,’ मुख्यमन्त्री यादवले भने–प्रदेश सरकारले ल्याब बनाउन २८ लाख बराबरको सामग्री उपलब्ध गराउने छ ।’
उनले अस्पतालको नयाँ भवन निर्माण गर्न अन्य क्षेत्रमा पनि प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिए ।
ल्याब स्थापनामा सहयोग माग्दै निजगढबाट सर्वपक्षिय टोली मुख्यमन्त्री कार्यालय पुगेको थियो । टोली फर्किएको दुई दिनमा मुख्यमन्त्री यादव निरीक्षणका लागि अस्पताल आएका हुन् ।

निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरी र अस्पतालका प्रमुख चिकित्सक सतिश निरौलाले मुख्यमन्त्री यादवलाई आगलागीबाट भएको क्षतिको विवरण र अस्पतालको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष माधव न्यौपाने, समाजसेवी नारायण खड्का, अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारीको उपस्थिति रहेको थियो ।
वि.सं.२०८० मंसिर १३ बुधवार १५:२६
















