skip this hetauda tech

नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी कारागार चलान

597 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद् अरुण चौधरीलाई कारागार चलान गरिएकाे छ । कैलाली क्षेत्र नं.२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद चौधरीलाई शुक्रबार बिहान प्रहरीले जिल्ला अदालत कैलाली बुझाएपछि अदालतले कारागार चलान गरेको हो ।

आगजनी मुद्दामा अदालतबाट दोषी ठहर भइ बिहीबार बाँकेबाट पक्राउ परेका सांसद चौधरीलाई अदालतको फैसला कार्यान्वयनका लागि कैलाली जिल्ला अदालतमा उपस्थित गराइएको हो । चौधरीलाई बाँकेबाट हवाई मार्गमार्फत काठमाडौं लगेर बिहीबार राति नै श्रीएयरलाइनको जहाजमार्फत कैलालीको धनगढी ल्याइएको थियो ।

ट्याक्टर आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो । २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २०६७ भदौ २ गते महादेव बजगाईले कैलाली जिल्ला अदालतमा उनीसहित तीन जना विरूद्ध मुद्दा दायर गरेका थिए ।

ट्याक्टरमा आगजनी गरेको कसुरमा कैलाली जिल्ला अदालतले २०६७ सालमै उनीलगायत ३ जनालाई बिगो सहित ६ महिना कैदको फैसला सुनाएको थियो ।

कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते सांसद चौधरीसहित परशुराम चौधरी र वीरबहादुर चौधरीका नाममा ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला सुनाएको थियो । उनले अदालतको फैसला अनुसार सजाय भुक्तान नगरेको भन्दै अदालतले कारागार चलान गरेको हो ।

nijgadh-supermart-adz1200-630