सम्पत्तीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न आयुक्त भण्डारीको चेतावनी
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:२८

काठमाडौं । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारी सम्पत्तीको दुरुपयोग गरी चुनाव प्रचारप्रसार नगर्न सम्बन्धित पक्ष र निकायलाई सचेत गराएका छन् । निर्वाचन प्रचारप्रसारमा सरकारी साधन स्रोतको दुरुपयोग भएको गुनासो बढिरहेका बेला आयोगले चुनाव प्रचारमा सरकारी सम्पत्तीको दुरुपयोग साधनस्रोत प्रयोग गरिनु निर्वाचन आचारसंहिता विपरीत हुने भन्दै त्यसतर्फ पुनः ध्यानाकर्षण गराएको हो ।
निर्वाचन आयुक्त भण्डारीले निर्वाचन प्रचार प्रयोजनका लागि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारका विभिन्न तहमा काम गर्ने व्यक्तिहरुले पदीय हैसियतले प्राप्त गरेका सेवासुविधा प्रयोग गर्न नपाउने जानकारी दिएका छन् । उनले सरकारी सम्पत्तिको प्रयोग नगरी निर्वाचन प्रचारप्रसारमा सहभागी हुने बाटो खुला रहे पनि साधनस्रोत प्रयोगलाई आचारसंहिताले रोकेको जिकिर गरेका छन् । आयोगले पदीय हैसियतमा चुनाव प्रचारप्रसार गर्दा विपक्षी उम्मेदवारहरुको समान हैसियत नहुने भएकाले निर्वाचनमा समानता र स्वच्छता कायम गर्न सरकारी सम्पत्तिको प्रयोग गर्न आचारसंहितामा नै रोकिएको पनि निर्वाचन आयुक्त भण्डारीको भनाई छ ।
वि.सं.२०७९ कात्तिक १५ मंगलवार १३:२८
















