निजगढ–५ बागदेवमा कृषि संकलन तथा बिक्री केन्द्र निर्माण सुरु
वि.सं.२०८२ चैत २६ बिहीवार १५:०३

बारा-निजगढ नगरपालिका–५ बागदेवमा कृषि उत्पादन संकलन तथा बिक्री केन्द्र निर्माण कार्य सुरु गरिएको छ। एक कार्यक्रमबीच नगर प्रमुख सुरथ पुरीले धार्मिक विधिअनुसार पूजापाठ गरी शिलान्यास गरेसँगै निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो।
नगर प्रमुख पुरीका अनुसार संघीय सरकारको विशेष अनुदान अन्तर्गत ५० लाख ५२ हजार रुपैयाँ लागतमा उक्त केन्द्र निर्माण गर्न लागिएको हो। निजगढ–५ स्थित स्कुल टोलमा निर्माण हुन लागेको यस केन्द्रले स्थानीय किसानलाई उत्पादन संकलन र बिक्रीमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
स्थानीय सार्वजनिक माध्यमिक विद्यालयको स्वामित्वमा रहेको २५ कठ्ठा जग्गा २० वर्षका लागि भाडामा लिएर नगरपालिकाले किसानको हितमा परियोजना अघि बढाएको हो। करिब एक कठ्ठा क्षेत्रफलमा ट्रससहितको गोदाम घर, कम्पाउन्ड वाल, केराको उद्योग, चिस्यान केन्द्र, अन्न सुकाउने स्थान तथा पार्किङ स्थल निर्माण गरिने जनाइएको छ।
नगर प्रमुख पुरीले कृषिजन्य उत्पादनको व्यवस्थापन, उचित बजार पहुँच र कालोबजारी नियन्त्रण गर्ने उद्देश्यले केन्द्र निर्माण गर्न लागिएको बताए। साथै व्यापारीहरूले पनि एकै स्थानबाट ठूलो परिमाणमा कृषि उत्पादन खरिद गर्न सक्ने वातावरण सिर्जना हुने उनको भनाइ छ।
कृषि उत्पादन संकलन र बिक्री केन्द्र अभावमा समस्या झेल्दै आएका स्थानीय किसान केन्द्र निर्माण भएपछि उत्साहित भएका छन्। स्थानीय कृषक थिरप्रसाद गौतमले अन्नबाली सुकाउने तथा भण्डारण गर्ने स्थान नहुँदा समस्या भोग्दै आएको उल्लेख गर्दै अब यस्तो समस्याबाट मुक्ति मिल्ने आशा व्यक्त गरे।
निर्माण कार्य लोकहित निर्माण सेवा, निजगढ–७ ले जिम्मा लिएको छ। कम्पनीका प्रतिनिधि बिदुर खरेलका अनुसार आगामी २०८३ असारभित्र काम सम्पन्न गर्ने सम्झौता भए पनि निर्धारित समयभन्दा अगाडि नै निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ।
शिलान्यास कार्यक्रममा उपमेयर सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, विभिन्न वडाध्यक्ष, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समिति, सहकारी प्रतिनिधि लगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो।
कार्यक्रमका क्रममा स्थानीय बासिन्दाले निर्माण कार्य गुणस्तरीय बनाउन प्रभावकारी अनुगमन आवश्यक रहेको भन्दै नगर प्रमुखको ध्यानाकर्षण गराएका थिए।
वि.सं.२०८२ चैत २६ बिहीवार १५:०३
















