निजगढ विमानस्थल बनाउन भारतीय लगानीकर्तासँग छलफल भएको छ : अर्थमन्त्री महत
वि.सं.२०८० माघ ८ सोमवार १८:५९

बारा–निजगढ विमानस्थल बनाउन विविध कारणले ढिलाई भईरहेको अर्थमन्त्री प्रकाश शरण महतले बताएका छन् । अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउन सरकारको पूर्ण प्रतिवद्धता रहेको मन्त्री महतले बताए ।
बाराको महागढीमाई नगरपालिकाको प्रशासनिक भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतले विमानस्थल बनाउन लगानी जुटाउन सम्भावित लगानीकर्ताहरुसँग कुराकानी भईरहेको जानकारी दिदै त्यस्तो छलफल भारतसँग समेत भएको बताएका हुन् ।
बारामा विमानस्थल र फास्ट ट्रयाक बनेपछि आर्थिक विकासले छलाङ मार्ने बताउँदै त्यसले जीवनस्थल धेरै माथि उठ्ने विश्वास व्यक्त गरे ।

फास्ट ट्रयाक चाँडो भन्दा चाँडो निर्माण सम्पन्न हुनुप¥यो भनेर निरन्तर रुपमा खबरदारी गरिरहेको मन्त्री महतले जानकारी दिए । आयोजनाको सुरुङमार्ग लगायतका सडक बनाउने कार्य सुचारु रहेको भन्दै चाँडो भन्दा चाँडो निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे ।
नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा सांसद अजय चौरसिया, कांग्रेस नेता चन्द्रशेखर यादवलगायतले सम्बोधन गरेको कार्यक्रममा स्वागत निमित्त प्रशासकीय अधिकृत विजयप्रसाद कुशवाह र सञ्चालन लक्ष्मी खरेलले गरेका थिए ।



वि.सं.२०८० माघ ८ सोमवार १८:५९

















