सर्वोत्तम स्टील विष्पोट प्रकरणले कबाडबाट फलामको डन्डि निर्माण गर्ने गरेको ‘खुलासा’
वि.सं.२०७८ भदौ १२ शनिवार १७:२८
काठमाण्डौं : सर्वोत्तम स्टीलमा बिहीबार भएको विष्फोटको घटनाबाट उद्योगमा गैरकानुनी रुपमा कवाड भट्टी सञ्चालन हुने गरेको खुलासा भएको छ ।
पथलैया–वीरगञ्ज औद्योगिक करिडोर अन्तर्गत वीरगञ्ज महानगरपालिका–२२ जगरनाथपुरमा निर्माणाधिन अवस्थामा रहेको सर्वोत्तम स्टीलले कबाडबाट फलामको डन्डि निर्माण गरि बजारमा सप्लाई गरेको घटनाले खुलासा भएको हो ।
नेपाली बजारमा नामचलेको सिमेन्ट, छड लगायत विभिन्न निर्माण सामग्री उत्पादन गर्दै आएको जगदम्बा कम्पनीका सञ्चालक राजेश अग्रवालले उद्योग स्थापना गरेका हुन् ।
जनतालाई उच्च गुणस्तरको छड उपलब्ध गराउने प्रतिबद्धताका साथ खोलिएको सर्वोत्तम स्टील लिमिटेडले बजारबाट कबाडी फलाम सामग्री संकलन गरेर ल्याइएको स्क्रेपलाई गलाएर छड निर्माण गरेको प्रमाणित भएको छ । सर्वोत्तम स्टील कम्पनीले उपभोक्ता ठगी कार्यमा लागीपरेको विष्फोटको घटना पछि खुलासा भएको हो ।
देशको बिभिन्न ठाउँबाट संकलन गरी ल्याइएको फलामे कबाडहरूलाई गलाउने क्रममा एलपीजी ग्यासको सिलिण्डर भट्टी भित्र हाल्ने बितिकै विष्फोट भएको कारण घाइते भएका घटनामा परेकाहरुको भनाइले समते पुष्टि गरेको छ ।
पत्रकारलाई रोक
घटना लगतै सर्वोत्तम स्टील कम्पनीमा पुगेका पत्रकारहरुलाई भित्र प्रवेशबाट रोक लगाउने कार्यले कम्पनी भित्र चलिरहेको अबैध कार्यबारे विभिन्न शंकाहरु उत्पन्न भएको छ ।
शनिबार घटनाको बारेमा बुझदै जाँदा सर्वोत्तम कम्पनीले नयाँ फलामको रड आयात गरेर फलामको डन्डी निर्माण गर्ने सरकारबाट लाइसेन्स लिए पनि कबाडलाई गलाएर डन्डी निर्माण गर्ने कार्यको खुलासा भएको हो ।
विष्फोटबाट घाइते भएर बयोधा अस्पतालमा उपचार गराई रहेका मजदूरको भनाइ सार्वजनिक भएता पनि स्थानीय प्रशासनले कुनै कानूनी प्रक्रिया अगाडि नबढाएको आरोप समेत लागेको छ ।
प्रशासनको भूमिका संकास्पद
सर्वोत्तप स्टीलमा भएको विष्फोट पछि स्थानीय प्रहरी प्रशासनको भूमिका संकास्पद देखिएको स्थानीयको आरोप छ । प्रहरी प्रशासनले पनि घटनाको वास्तविकता बुझ्ने भन्दा पनि ढाकछोपमै संलग्न भएको आरोप छ ।
वि.सं.२०७८ भदौ १२ शनिवार १७:२८