एमसीसीबारे छलफल गर्न फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो, पहिलो भेटवार्ता ओलीसंग

वि.सं.२०७८ भदौ २४ बिहीवार १४:५४

काठमाडौं : अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो ।
उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो । सो टोली एमसीसीबारे छलफल गर्न आएको हो । एमसीसीबारे नेपाली राजनीतिक वृत्तमा एकमत हुन सकेको छैन ।
नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो ।
यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।
यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।
पहिलो भेटवार्ता ओलीसंग
एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलले एमाले अध्यक्ष केपी शर्मा ओलीबाट आफ्नो भेटवार्ता शुरु गरेको छ । ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ ।
छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १४:५४