वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवस, विमानस्थलमा श्रमिक परिवारका लागि विश्राम कक्ष
वि.सं.२०८३ कात्तिक १८ बुधवार १९:३८

काठमाडौं-वैदेशिक रोजगार बोर्डको १८औँ स्थापना दिवसको अवसरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतिक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ ।
वैदेशिक रोजगारका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तलाई विमानस्थलमा प्रतीक्षा गर्दा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरिएको बोर्डका कार्यकारी निर्देशक निर्मलकुमार उप्रेतीले जानकारी दिएका छन् ।

स्थापना दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उप्रेतीले नेपाली श्रमिकको वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन बोर्डले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताएका छन् । वैदेशिक रोजगारका क्रममा नेपाली श्रमिकले अंगभंग हुने वा ज्यान गुमाउनुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले सचेतनामूलक कार्यक्रम, पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित तथा प्रभावकारी बनाउने र डिजिटल सामग्री श्रमिक तथा समुदायस्तरसम्म पुर्याउने कार्य भइरहेको उनले उल्लेख गरेका छन् ।

१८ वटा उद्देश्यसहित स्थापना भएको बोर्डले नयाँ तथा फलदायी श्रम गन्तव्यको पहिचान गर्न र गन्तव्य मुलुकसँग हुने श्रम सम्झौतामा श्रमिकको हित तथा सामाजिक सुरक्षाका विषय समेट्न आवश्यक सहकार्य र समन्वय अघि बढाएको जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुनःएकीकरणमा सहयोग पुर्याउने, विभिन्न सीपमूलक तालिम सञ्चालन गर्ने तथा सीप प्रमाणीकरणमा सहायता गर्ने कार्यलाई थप प्रभावकारी बनाउन बोर्डले पहल गरिरहेको उप्रेतीले बताएका छन् ।
बोर्डको १८औँ स्थापना दिवसका अवसरमा कार्यकारी निर्देशक उप्रेतीले सबैमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
वि.सं.२०८३ कात्तिक १८ बुधवार १९:३८

















