काठमाडौँ-मेघौली र काठमाडौँ-सुनौली पर्यटकीय बससेवा सुरु
वि.सं.२०७८ असोज १३ बुधवार ०९:०३
काठमाडौँ : राजधानीबाट चितवनको मैघौलीसम्म पर्यटकीय बससेवा सुरु गरिएको छ ।
विसं २०६० देखि काठमाडौँ-पोखरा पर्यटकीय बस सेवा प्रदान गर्दै आएको बाबा एड्भेन्चर बससेवा प्रालिले आजदेखि काठमाडौँ-मेघौली बस सेवा सुरु गरेको हो ।
प्रालिका अध्यक्ष प्रल्हाद लोहनीले कोरोनाबाट थलिएको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न पहिलोपटक काठमाडौँ-मेघौली पर्यटक बस सेवा सञ्चालन गर्न लागेको जानकारी दिए । ‘आन्तरिक पर्यटन प्रवद्र्धनका लागि स्वास्थ्य मापदण्डलाई पालना गर्दै नयाँ गन्तव्यस्थलमा पर्यटकीय बस सेवा विस्तार गरेका हौँ’, उनले भने ।
यस्तै उक्त बस सेवाले आजैदेखि काठमाडौँ-भैरहवा-सुनौलीसमेत बस सेवा विस्तार गरेको छ ।
भारतीय पर्यटकलाई लक्षित गरेर काठमाडौँ- भैरहवा-नौली बस सेवा विस्तार गरिएको अध्यक्ष लोहनीको भनाइ छ ।
नयाँ गन्तव्यमा बस विस्तार गरेसँगै अब दैनिक चार बसले यात्रुलाई सेवा प्रदान गर्ने भएका छन् । काठमाडौँदेखि मेघौलीका लागि हरेक दिन बिहान ७ : ०० बजे सोह्रखुट्टेबाट र काठमाडौँदेखि भैरहवा हुँदै सुनौलीसम्म हरेक दिन बिहान ७ : ३० बजे बालाजुबाट बस छुट्नेछन् ।
उक्त बसको टिकट प्रालिको कार्यालय, अनलाइन र इसेवामार्फत काट्न सकिने अध्यक्ष लोहनीले बताए ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर तयारी थाले पनि कोभिड-१९ को बढ्दो सङ्क्रमणका कारण उक्त कार्यक्रम स्थगन गरिएको थियो ।
राजधानीको मुख्य पर्यटकीयस्थल ठमेललाई लक्ष्य गरेर झण्डै १०० पर्यटकीय बसले सेवा प्रदान गर्दै आए पनि कोरोनाका कारण उक्त बस सेवा रोकिएका थिए ।
हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट पर्यटकलाई बोकेर पर्यटक बस पोखरा, चितवनको सौराहा, लुम्बिनी र जनकपुर ओहोरदोहोर गर्दै आएका छन् ।
वि.सं.२०७८ असोज १३ बुधवार ०९:०३