सेनाले कसरी गर्याे फास्ट ट्रयाकमा बेइमानी ? कारबाहीमा पर्ने भए पाेखरेल !
द्रुतमार्ग आयोजनाका प्रमुखलाई कारवाही गर्न विकास समितिको निर्देशन
वि.सं.२०७९ भदौ २६ आइतवार २०:०९

काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाका प्रमुखसहितका पदाधिकारीलाई कारवाही गर्न संसदको विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।
आइतबार समितिको बैठकले ठेक्का व्यवस्थापनमा संलग्न आयोजना प्रमुख प्राविधिक सहायकरथी विकास पोखरेलसहितका अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।
सिंहदरबारमा बसेको बैठकमा सो आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानविन समितिको प्रतिवेदनबारे छलफल भएको थियो । सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेको समितिको ठहर छ ।
समितिले ठेक्का प्रक्रियामा संलग्न पदाधिकारीलाई कारवाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई भनेको छ । समितिकी सभापति कल्याणीकुमारी खड्का नेतृत्वको टोलीले भदौ ५, ६ र ७ मा स्थलगत अध्ययन गरेको थियो ।
यसैबीच, नेपाली सेनाले आयोजनाको कार्य प्रगतिबारे पत्रकार सम्मेलन गरेर जानकारी गराउने भएको छ । भदौ ३१ मा आयोजनाबारे जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको सैनिक जनसम्पर्क तथा सुचना निर्देशनालयले जानकारी गराएको छ ।
वि.सं.२०७९ भदौ २६ आइतवार २०:०९


















