अलविदा ! डा. कृष्ण पौडेल
को हुन् डा. पौडेल
वि.सं.२०८० असोज २५ बिहीवार २०:१७

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाका पूर्व मेयर डा. कृष्ण पौडेलको निधन भएको छ । डा. पौडेल घरमा मृत अवस्थामा फेला परेका थिए ।
सहकारीकर्मी डा. कृष्ण पौडेल २०७४ मा जीतपुर सिमरा उपमहानगरपालिकाको मेयर बनेका थिए । लामो समयदेखि सहकारी क्षेत्रमा सक्रिय उनी स्थानीय हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हुन् ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का सञ्चालक सदस्य रहेका पौडेल अडिटर्स एसोसिएसन अफ नेपाल (अडान) को उपाध्यक्षको सम्म जिम्मेवारी सम्हालेका थिए ।
सहकारीमा सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि गरेका डा. पौडेलले सहकारी अभियानमार्फत समाजप्रतिको सामाजिक उत्तरदायित्वपूर्ण कार्यमा अहम भूमिका निर्वाह गर्दै आएका डा. पौडेलले जनप्रतिनिधिका रुपमा एक कार्यकाल जीतपुरसिमराको नेतृत्व गरेका थिए ।
मेयरको कार्यकाल सकिएसँगै गुमनाम बस्दै आएका डा. पौडेलले केहि दिनअघि उनी संस्थापक रहेको सहकारीको साधारण सभामा प्रस्तुत भएका थिए ।
को हुन् डा. पौडेल
जीतपुरसिमरा उपमहानगरको पूर्व मेयर डा. कृष्ण पौडेलको जन्म २०२९ सालमा भएको हो । रामप्रसाद पौडेल र विष्णुदेवी पौडेलको पहिलो सन्तानका रुपमा पौडेल मकवानपुरको न्युरेनी चिसापानीमा जन्मिएका हुन् ।
पाँच दाजुभाई र दुई दिदीबहिनीमध्ये जेठा पौडेलको अहिले स्थायी बसोबास जीतपुरसिमरा उपमहानगर १५ मा रहेको छ ।
नेकपा एमालेको राजनितिमा लामो समयदेखि सक्रिय उनी २०५८ सालदेखी जिल्ला सचिवालय सदस्य छन् । करिब १५ वर्ष पार्टीको जिल्ला प्रचार बिभाग सम्हालेका उनी प्ररायुसंघ, अनेस्ववियु हुदैँ पार्टीको राजनीतिमा सक्रिय भएका थिए ।
विभिन्न आन्दोलनको अगुवाई गर्ने उनी २०६२/६३ आन्दोलनमा २४ दिनसम्म पक्राउ परेका थिए । सहकारी बिषयमा विद्यावारिधी, ब्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका पौडेलले जापान, सिंगापुर, बैंकक दक्षिण कोरिया, पाकिस्तान, श्रीलंका, मलेसिया, भारत जस्ता देशको भ्रमण गरेर अनुभव बटुलेका थिए ।
एक छोरा र एक छोरीका पिता डा. पौडेल डुमरवाना बहुमुखी क्याम्पसका पूर्व सञ्चालक अध्यक्ष समेत हुन् ।
वि.सं.२०८० असोज २५ बिहीवार २०:१७

















