गोरखाको चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ– प्रधानमन्त्री दाहाल
वि.सं.२०८० वैशाख ६ बुधवार १४:२४

काठमाडौं । गोरखाको चुम उपत्यकाले सिङ्गो देश र दुनियाँलाई शान्ति तथा अहिंसाको सन्देश दिएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–७, छेकम्पारस्थित राजेन गुम्बामा ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराकासाथ आजदेखि सुरु भएको ‘चुमशताब्दी श्याग्या महोत्सव २०८०’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले चुम उपत्यकालाई एक सय वर्षसम्म अहिंसा क्षेत्रका रुपमा स्थापित गरेर राख्नु आफैमा एउटा ऐतिहासिक कार्य भएको बताएका छन् ।
“यो क्षेत्र आफैमा एउटा ऐतिहासिक क्षेत्र छ, चुम उपत्यकालाई अहिंसा क्षेत्रका रुपमा स्थापित गरेको सय वर्ष पूरा हुनु पनि आफैमा एउटा ठूलो इतिहास र गौरव हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तपाइँहरुले यो महोत्सवमार्फत सिङ्गै देश र दुनियाँलाई पनि शान्ति र अहिसांको सन्देश दिनुभएको छ ।” उनले चुम उपत्यकाको प्राकृतिक सौन्दर्यले गर्दा यस क्षेको पर्यटनसँगै आर्थिक र सामाजिक विकासको प्रशस्त सम्भावना रहेको समेत बताए ।
प्रधानमन्त्री दाहालले चुमनुव्रीलगायत देशका विकट क्षेत्रहरुको आर्थिक, सामाजिक, सांस्कृतिक तथा समग्र क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेकोसमेत बताएका छन् । “विकट क्षेत्रमा रहेका जनताले अझ धेरै दुःखकष्टको सामना गरिरहनुपरेको छ”, प्रधानमन्त्री दाहालले भने, “सरकार तपाइँहरुका साथमा छ, तत्काल सम्भव भए जति विकास निर्माण र आर्थिक क्रियाकलाप बढाउन पनि सरकार प्रतिबद्ध छ ।” उनले देशमा सङ्घीयता स्थापना भएसँगै विकट क्षेत्रका जनताको आवाज सिधै सिंहदरबारसम्म पुग्नसक्ने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।
उनले चुमनुव्री गाउँपालिका–१ सामागाउँस्थित रुइलानाका र वडा नं ७ छेकम्पारस्थित तिब्बतसँग सिमाना जोडिएको रुइला नाका खुलाउन आवश्यक पहल गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् । “रुइला नाका खुलाउने विषयमा धैरै पहिलेदेखि नै कुरा भइरहेको छ”, प्रधानमन्त्री दाहालले भने, “त्यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विश्वास दिलाउन चाहन्छु ।”
वि.सं.२०८० वैशाख ६ बुधवार १४:२४
















