‘विशेष चित्रकला कार्यशाला’ मा अपाङ्गता भएका कलाकारले बनाए माउथ पेन्टर
वि.सं.२०७९ पुस ११ सोमवार २३:०७

काठमाण्डौं–नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा प्रतिष्ठानका प्राज्ञ तथा चर्चित कलाकार सञ्जय बान्तवाको विशेष पहलमा “विशेष चित्रकला कार्यशाला” राजधानीमा सम्पन्न भएको छ ।
अपाङ्गता भएका कलाकारहरूको क्षमता प्रदर्शन तथा उनीहरूको कलालाई प्रवद्र्धन गर्ने उद्धेश्यले आयोजित सो चित्रकला कार्यशालामा १० जना अपाङ्गता भएका कलाकारहरूले भाग लिएका थिए ।
प्राज्ञ बान्तवा नेपालका चर्चित अपाङ्गता भएका कलाकार हुन् । उनका चित्रकलाहरूको स्वदेश तथा विदेशमा धेरै पटक प्रर्दशनी समेत भईसकेको छ । सो चित्रकला प्रदर्शनीमा नेपालका माउथ पेन्टर (मुखले चित्र बनाउने) अमिर बञ्जन तथा चर्चित बहिरा कलाकार प्रतिज्ञ शाक्य लगायतका १० जना कलाकारहरूले कार्यशाला अवधिमा नै विभिन्न खालका सन्देशमूलक चित्रकलाहरू कोरेका थिए ।
कार्यशालाको उद्घाटन तथा समापन सत्रलाई संवोधन गर्दै प्रतिष्ठानका कुलपति केके कर्माचार्य (कान्छा कुमार) ले यस विशेष चित्रकला कार्यशालामा अपाङ्गता भएका कलाकारहरूको कलालाई मुक्तकंठले प्रशंसा गर्दै कार्यशालाको आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे ।
अन्तर्राष्ट्रियस्तरमा नेपालका अपाङ्गता भएका कलाकारहरूको चित्रलाई प्रवद्र्धन गर्न तथा उनीहरूलाई प्रोत्साहन गर्नका लागि आइसल्याण्डका चर्चित माउथ पेन्टर ब्राण्डुर कार्सन पनि कार्यशालामा सहभागी भएका थिए ।

एक सामाजिक उद्यमीका रूपले समेत आफ्नो परिचय बनाएका ब्राण्डुर २६ वर्षको उमेर हुँदा एक रोगका कारण घाँटि भन्दा तल संपूर्ण शरिर प्यारलाइसिस भएपछि उनले म मुखले गर्ने काम के गर्न सक्छु त ? भनेर बिकल्पहरूको खोजी गर्दै जाँदा एक जना महिला कलाकारले मुखले चित्र बनाएको भन्ने थाहा पाएपछि “म पनि अब चित्र कोर्छु” भन्ने अठोटका साथ उनले कलाकारिता क्षेत्रमा पाइला टेकेका हुन् । उनको अथक प्रयास तथा निरन्तरको अभ्यासबाट नै उनी अहिले अन्तर्राष्ट्रियस्तरमा नै चर्चित माउथ पेन्टर बन्न सफल भएका छन् ।
वि.सं.२०७९ पुस ११ सोमवार २३:०७

















