चुम्बन प्रकरण : १५ वर्षपछि अदालतबाट सफाइ पाइन् अभिनेत्री शिल्पाले !
वि.सं.२०७८ माघ १२ बुधवार १४:२९

बहुचर्चित चुम्बन प्रकरणमा बलिउड अभिनेत्री शिल्पा सेठ्ठीले १५ वर्षपछि अदालतबाट सफाइ पाएकी छिन् । हलिउड अभिनेता रिचर्ड गेरलाई सार्वजनिक थलोमा चुम्बन गरेपछि अश्लिलता फैलिएको आरोप उनीमाथि थियो ।
सन् २००७ मा दिल्लीमा आयोजित एचआइभी एड्ससम्बन्धी एक जनचेतना कार्यक्रममा अभिनेता गेरले शिल्पालाई चुम्बन गरेको भिडिओ सार्वजनिक भएको थियो । अनावश्यक कुराको सिकार भएको भन्दै अदालतले सेट्टीमाथि लगाइएका आरोपलाई अहिले आएर ‘आधारहीन’ भनेको छ।
झन्डै १५ वर्षअघि अभिनेता गेरले दिल्लीमा अभिनेत्री सेट्टीलाई अङ्कमाल गर्दै उनको गालामा चुम्बन गरेका थिए। पछि उनले त्यसका लागि क्षमायाचना गरेका थिए। चुम्बनबाट एचआईभी सर्दैन भन्ने सन्देश पुर्याउन आफूले त्यसो गरेको उनले स्पष्ट पनि पारेका थिए।
घटनापछि अभिनेता गेरविरुद्ध जारी गरिएको पक्राउपुर्जी सर्वोच्च अदालतले तत्कालै खारेज गरिदिएको थियो। लामो अदालती प्रक्रियापछि गत साता मात्रै सोही चुम्बन प्रकरणलाई लिएर लगाइएका आरोप मुम्बईमा खारेज भएको हो।
वि.सं.२०७८ माघ १२ बुधवार १४:२९

















