एमाले बारा सचिवालय : ज्वाला साहसहित ७ जना इच्छुक नेताको नाम सिफारिस
वि.सं.२०८२ पुस २३ बुधवार १८:४९

बारा–नेपाल कम्युनिष्ट पार्टी (एमाले) बारा जिल्ला सचिवालयको सातौँ बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकको निर्णय मधेश प्रदेश कमिटी जनकपुरधामलाई २१ पुसमा पठाइएको छ ।
पत्र अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाका चारै निर्वाचन क्षेत्रबाट क्षेत्रीय कमिटीहरूले सिफारिस गरी पठाएका नामहरूलाई औपचारिक रूपमा स्वीकृत गर्दै प्रदेश कमिटीमार्फत केन्द्रीय कमिटीमा पठाउने निर्णय गरिएको छ ।
बैठकले क्षेत्रिय कमिटीबाट सिफारिसमा नपरेका इच्छुक ७ जना नेताको नाम पनि प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ । बैठकको विशेष निर्णयअनुसार जिल्ला सचिवालयको सुझावलाई उच्च महत्व दिँदै चारै निर्वाचन क्षेत्रबाट थप ७ जना इच्छुक नेताहरुको नाम पनि सिफारिस गरी पठाउने निर्णय गरिएको हो।
चारै निर्वाचन क्षेत्रबाट थप ७ जना इच्छुक तथा सक्रिय कमरेडहरूको नाम पनि सिफारिस गरी पठाइएको छ। सचिवालयको सुझावद्वारा ज्वाला कुमारी साह, गायत्री देवी, सिता सुवेदी, टिना सुवेदी, प्रतिमा यादव, रविन्द्र दास वनिया र फुलेना राउत अहिरको नाम समेटिएको हो।
बैठकले ११औँ महाधिवेशनबाट नव–निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई ज्ञापन गर्दै उनीहरूको कार्यकाल सफलताको कामना गरेको छ ।
कुन क्षेत्रबाट को भए सिफारिस
क्षेत्र नम्बर १ बाट अच्युतप्रसाद मैनाली, पुरुषोत्तम पौडेल, धनमाया चौधरी, बानेश्वर सापकोटा (अविरल), पुरनदेव चौधरी, सुदामा देवी राम तथा विलोकीप्रसाद चौधरी सिफारिस भएका छन्।
यस्तै क्षेत्र नम्बर २ बाट बलवीरप्रसाद चौधरी, अमरदेवप्रसाद यादव, मखन पासवान, सत्पाल यादव, राजेशप्रसाद साह, कौशल किशोर सिंह, गौरीशंकरप्रसाद यादव र महपतिया देवी दुसादिनको नाम सिफारिस गरिएको छ।
क्षेत्र नम्बर ३ बाट अदानन्द पाण्डे, एम। समिउल्लाह र सिमा ठकुरी सिफारिसमा परेका छन् भने क्षेत्र नम्बर ४ बाट अमर यादव, कृष्ण कुमार श्रेष्ठ र सिता गुरुङको नाम पठाइएको छ।
पार्टी स्रोतका अनुसार, सिफारिस गरिएका सबै नामहरू संगठनात्मक योगदान, जनआधार, समावेशिता तथा आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउने क्षमतालाई आधार मानेर अघि बढाइएको हो। जिल्ला कमिटी अध्यक्ष अध्यनानन्द पाण्डेद्वारा हस्ताक्षरित निर्णयले एमाले बारा जिल्लाको निर्वाचन रणनीति स्पष्ट पार्दै संगठनलाई थप एकताबद्ध बनाउने अपेक्षा गरिएको छ ।
वि.सं.२०८२ पुस २३ बुधवार १८:४९
















