बझाङमा कार्यसम्पादन मूल्याङ्कनमा केदारस्युँ गाउँपालिका पहिलो
वि.सं.२०७८ फागुन २३ सोमवार १७:५१

बझाङ । कार्यसम्पादन मूल्याङ्कनमा बझाङका स्थानीय तहमा केदारस्युँ गाउँपालिका पहिलो नम्बरमा देखिएको छ ।
प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनमा जिल्लाका १२ स्थानीय तहमध्ये केदारस्युँ पहिलो नम्बरमा देखिएको हो ।
प्रतिवेदनमा केदारस्युँ गाउँपालिकाले सबैभन्दा बढी ७३.६ प्रतिशत अङ्क पाएको छ । सुर्मा ६९.९३, छविसपाथिभेरा ६९.११, दुर्गाथली ६८.४७, थलारा ६६.८८, तलकोट ६५.७४, साइपाल ६५.४९ र बुंगल नगरपालिकाले ६१.९३ अङ्क पाएको छ ।
यसैगरी मष्टा गाउँपालिका ५६.६८, जयपृथ्वी नगरपालिका ५६.४९, खप्तडछान्ना गाउँपालिका ५६.१० र वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएको छ । जिल्लामा सबैभन्दा कम वित्थडचिर गाउँपालिकाले ४२.७५ अङ्क पाएको हो ।
यही मूल्याङ्कनका आधारमा आयोगले आर्थिक वर्ष २०७९÷८० का लागि सङ्घबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस हुने जनाइएको छ ।
आयोगले कार्यसम्पादन सूचक मूल्याङ्कनबाट प्राप्त अङ्क र तथ्याङ्क सार्वजनिक गरेको हो ।
आयोगले सार्वजनिक गरेको सूचकअनुसार सङ्घीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान सिफारिस गर्ने गरिन्छ ।
सम्बन्धित स्थानीय तह र निकायबाट प्राप्त तथ्याङ्कसमेतको आधारमा आयोगले कार्यसम्पादन मूल्याङ्कन गरेर अङ्क प्रदान गरेको हो ।
वि.सं.२०७८ फागुन २३ सोमवार १७:५१

















