खप्तड प्रकृतिको अनुपम उपहार हो, मास्टरप्लान बनाएर विकास गरौँ : मन्त्री आले
वि.सं.२०७८ फागुन २४ मंगलवार १८:५४

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमको चार जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थल खप्तड प्रकृतिको अनुपम उपहार भएको बताएका छन् ।
खप्तड पर्यटन विकास समितिद्वारा आज आयोजित ‘खप्तडको पर्यटन विकासका लागि अन्तक्र्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले खप्तडजस्तो प्राकृतिक सुन्दरता भएको ठाउँ अन्त कतै नभएको दाबी गरे ।
उनले भने, “हामी स्वीट्जरल्याण्ड, सिङ्गापुर घुम्न गइरहेका छौँ तर त्यो नेचुरल होइन, कृतिम हो, हाम्रै देशमा भएका प्रकृतिले दिएका खप्तड, राराजस्ता नेचुरल ठाउँको विकास गरौँ, पर्यटक आउने छन् ।”
मन्त्री आलेले रकमान्तर भयो भने खप्तडको विकासका लागि आफूले केही बजेट यसैपालि छुट्टयाएर अर्थ मन्त्रालयमा पठाएको समेत जानकारी दिए ।
उनले थप भने, “आगामी वर्षको बजेटका लागि खप्तडको माष्टरप्लान बनाएर दिएको खण्डमा थप बजेट विनियोजन गर्न सकिने छ ।”
खप्तडसहित देशका विभिन्न क्षेत्रमा रहेका प्रकृतिका अनुपम उपहारको विकास, संरक्षणका लागि आफू लागि परेको उनको भनाइ थियो ।
आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका हैसियतले देशमा रहेका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सधैँ अग्रसर रहने वचन दिए।
वि.सं.२०७८ फागुन २४ मंगलवार १८:५४

















