गरिमाको न्याय माग्दै निजगढमा मोटरसाइकल र्याली
वि.सं.२०८३ भदौ ५ शुक्रवार २०:२५

निजगढ-बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको न्यायको माग गर्दै निजगढ राइडर्स एशोसिएसनले शुक्रबार निजगढमा मोटरसाइकल र्यालीसहित प्रदर्शन गरेको छ।
निजगढ राइडर्स एशोसिएसनका अध्यक्ष सुभम खनालका अनुसार घटनाको विरोध तथा पीडित बालिकालाई न्यायको माग गर्दै बजार क्षेत्रमा मोटरसाइकल र्याली निकालिएको हो।
र्यालीपछि शहीदचोकमा कोणसभा समेत आयोजना गरिएको थियो। प्रदर्शनका क्रममा ‘गरिमालाई न्याय दे’, ‘बलात्कारीलाई फाँसी दे’ लगायतका नारा लगाइएको थियो।
एशोसिएसनले शनिबार दिउँसो समेत शान्तिपूर्ण प्रदर्शन गर्ने योजना बनाएको जनाएको छ।

यसअघि बिहीबार ‘युथ अफ निजगढ’ले गरिमाको आत्माको शान्तिको कामना गर्दै निजगढमा दीप प्रज्वलन गरेको थियो।
त्यस्तै, घटनाको विरोध गर्दै मेची–महाकाली बुहारी संयुक्त आवाज, बाराले प्रेस विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेको छ। संस्थाकी अध्यक्ष चन्द्रिका पुलामी मगरले दोषीलाई कानुनबमोजिम कडा कारबाही गरी पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरेकी छन्।

वि.सं.२०८३ भदौ ५ शुक्रवार २०:२५

















