बारागढी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रले गरे पदभार ग्रहण
वि.सं.२०८२ असोज २४ शुक्रवार २०:२०

बारा-बाराको बारागढी गाउँपालिकामा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रको स्वागत कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।
गाउँपालिका कार्यालय परिसरमा आयोजित स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल, उपाध्यक्ष लक्ष्मी देवी राय, जनप्रतिनिधि, कार्यालयका कर्मचारी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति थियो।
स्वागतसँगै प्रमुख प्रशासकीय अधिकृत मिश्रले गाउँपालिकाको दायित्व सम्हाल्दै औपचारिक रूपमा हस्ताक्षर गरी कार्यभार ग्रहण गरेका छन् ।

स्वागत कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवालले नवनियुक्त अधिकृतले गाउँपालिकामा प्रशासनिक दक्षता, पारदर्शिता र सेवा प्रवाहमा नयाँ उर्जा ल्याउने विश्वास व्यक्त गरेका छन् ।
“गाउँपालिकाको विकास र सुशासनका लागि जनप्रतिनिधि र प्रशासनबीचको सहकार्य अत्यावश्यक छ। नवनियुक्त अधिकृतज्यूको अनुभवले हाम्रो पालिकालाई अझ सबल बनाउनेछ।”
त्यसैगरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी रायले नवनियुक्त अधिकृतलाई हार्दिक शुभकामना दिँदै सफल कार्यकालको कामना गरिन् ।
कार्यक्रममा अन्य जनप्रतिनिधि र सरोकारवालाहरूले पनि नयाँ अधिकृतको स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनियुक्त अधिकृत मुकेश कुमार मिश्रले सबैको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
वि.सं.२०८२ असोज २४ शुक्रवार २०:२०

















