बिश्रामपुर गाउँपालिकाका अध्यक्ष राउतले करोडौ घोटाला गरेपछि..!
वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:०७

वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिकाको बरियारपुर स्वच्छ खानेपानी योजनाकाे करोडौ रकम हिनामिना भएको छ ।
बिश्रामपुर गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ मा खानेपानीको चापाकल जडान गर्नका लागि बिनियोजित रकममा व्यापक अनियमितता भएको पाइएको हो । ५ वटै वडाहरुमा चापाकल जडान गर्ने योजना भएपनि अधिकांश स्थानमा जडान नै नगरी रकम हिनामिना भएको स्थानीयले बताए । गाउँपालिका अध्यक्ष अमिरीलाल राउतसहित सम्बन्धीत वडाअध्यक्षहरुको मिलमतोमै ठूलो रकम अनियमितता गरेको खुलेको हो । यसअघि अध्यक्ष राउतले उपाध्यक्ष सुमित्रा देवी साह तेलीमाथि हातपातसमेत गरेका थिए ।
मुसहर्वा र बिश्रामपुरलगायतका केही सिमित स्थानमा मात्रै चापाकल जडान गर्नुका साथै प्रतिफिट २ सय ५० रुपैयाँका दरले काम गरेको स्वच्छ पिउने पानीका लागि चापाकल जडान उपभोक्ता समितिका जाबैद अन्सारीले बताए ।
तर यता ५० देखि ६० हुँदै बढीमा ८० फिटसम्म मात्रै जडान गरेर १ सय २० फिट जडान भएको भन्दै भुक्तानी लिएको वडा नम्बर ५ का वडाअध्यक्षका प्रत्यासी धर्मदेव यादवले आरोप लगाए । यादवका अनुसार स्वच्छ पिउने पानीको योजना भएपनि ५० देखि ८० फिटसम्म मात्रै चापाकल जडान गरेर जनताको स्वास्थ्यसँग पनि खेलवाँड गरिएको छ ।
उपभोक्ता समिति, वडाअध्यक्ष एवम् गाउँपालिका अध्यक्ष राउतको मिलेमतोमा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ ।
विभिन्न सामाग्रीको तस्करी गर्दै अकुत सम्पती आर्जन गरेका राउत राजनीतिमा प्रवेश गरेर पनि आफ्नो पृष्ठभूमिबाट अछुत हुन नसकेको नागरिकको बुझाई छ । बारा जिल्ला अदालतले सरवारी ज्यान मुद्दामा २९ भदौ २०६३ मा भेडिहरलाई दोषी ठहर गर्दै २९ दिन कैद र २ हजार जरिमानाको फैसला सुनाएको थियो । १३ वर्ष पुरानो सवारी ज्यान मुद्धामा दोषि ठहर भइ जेल चलानसमेत भएका गाउँपालिका अध्यक्ष राउतले वडा अध्यक्ष एवम् ठेकेदारहरुसँग २० प्रतिशतसम्म कमिशन लिने गरेको स्रोतले जनाएको छ ।
यस बिषयमा बुझ्न खाेज्दा अध्यक्ष राउतकाे फाेन भने उठेनकाे छैन।
वि.सं.२०७८ फागुन ६ शुक्रवार १५:०७

















