सरकारको प्याकेज : गरीबलाई दशैंमा १० हजार, बिरामीलाई मासिक ५ हजार !

वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:२८

Minister for Home Affairs Janardan Sharma speaks at the Legislature-Parliament in Kathmandu, on Sunday, July 30, 2017. Photo: RSS
काठमाडौं : शेरबहादुर देउवा नेतृत्वको सरकारले अति विपन्न गरीब परिवारलाई प्रति घरपरिवार १० हजार रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ ।
देशभरिका ५ लाख घर परिवारलाई यो रकम दशैँकै बेलामा, अर्थात् असोज महिनाभित्रै उपलब्ध गराइने सरकारले घोषणा गरेको छ ।अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार अध्यादेशबाट आएको बजेटलाई परिमार्जन गर्दै संसदमा प्रस्तुत गरेको प्रतिस्थापन विधेयकमा कोरोना महामारीबाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई असोजभित्रै १० हजार रुपैयाँका दरले राहत बाँड्ने घोषणा गरेको हो ।
संसदमा प्रतिपक्षी एमालेको चर्को विरोधको सामना गर्दै अर्थमन्त्री शर्माले १९ पृष्ठ लामो ७७ बुँदे प्रतिस्थापन विधेयक बाचन गरेका थिए । संसदमा मन्त्री शर्माले भने, ‘कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रमा रहेका अति विपन्न गरीब ५ लाख परिवारलाई राहतस्वरुप एक पटकका लागि प्रतिघर परिवार रु १० हजारका दरले निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रवन्ध गरेको छु ।’
यो अनुदान असोजभित्रै प्रदान गरिने आश्वासन दिँदै उनले भने, ‘यस्तो अनुदान रकम स्थानीय तहको समन्वयमा सम्मत २०७८ असोज महिनाभित्र हस्तान्तरण गर्ने गरी आवश्यक तयारी गरेको छु ।’
५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा
त्यसैगरी अर्थमन्त्री शर्माले मिर्गौला, क्यान्सर र मेरुदण्डका बिरामीहरुलाई सरकारले मासिक ५ हजार रुपैयाँ उपचार खर्च दिने घोषणा गरेका छन् । शर्माले विधेयक पढ्दै भने, ‘मृगौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचार खर्च वापत मासिक रु. ५ हजारका दरले उपलब्ध गराइने व्यवस्था मिलाएको छु ।’
यसैगरी, राजनीतिक आन्दोलनमा लागेर जीवन गुमाएका ब्यक्तिको परिवारका लागि सरकारले मासिक ३ हजार रुपैयाँ दिने ब्यवस्था गरेको पनि अर्थमन्त्री शर्माले सुनाए ।
१० ठाउँमा सस्तो भात खान पाइने !
सरकारले काठमाडौं उपत्यकाको १० ठाउँमा सस्तोमा भात खान पाइने व्यवस्थासमेत गर्ने भएको छ । अर्थमन्त्रीद्वारा प्रस्तुत विधेयकमा भनिएको छ, ‘शहरी विपन्न नागरिकहरूका लागि सामाजिक संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाको कम्तिमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गरिनेछ ।’
सरकारले केही नाराहरू पनि अघि सारेको छ । जस्तै– १२ कक्षाका विद्यार्थीहरूका लागि ‘पढ्दै कमाउँदै कार्यक्रम’ घोषणा गरिएको छ भने महिलाहरुका लागि ‘महिला पहिला कार्यक्रम’ ल्याइने अर्थमन्त्री शर्माले बताएका छन् ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १९:२८