दक्षिण कोरियामा यौन दुर्व्यवहारपछि महिला सैन्य अधिकारीद्वारा आत्महत्या, १५ जना आरोपित
वि.सं.२०७८ असोज २२ शुक्रवार १३:४२

काठमाडौं : दक्षिण कोरियामा आफूमाथि समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप लगाउने एक महिला एयर फोर्स अधिकारीले आत्महत्या गरेपछि १५ जनामाथि मुद्दा चलाइएको छ । यो घटना लुकाउन खोज्ने दर्जनौँ एयर फोर्सका अधिकारीहरूमाथि अनुशासनको कारबाही पनि गरिने भएको छ । यस घटनाले गत जुन महिनामा ठूलो हंगामा मच्चिएको थियो ।
गत मार्चमा एयरफोर्स मास्टर सार्जेन्ट रहेकी ती महिलालाई सैन्य बेसमा आयोजित एक डिनर मिटिङबाट घर फर्कने क्रममा कारमा पुरुष समकक्षीले यौन दुर्व्यवहार गरेको आरोप थियो । उनले यो घटना आफ्ना सिनियर अधिकारीहरुलाई रिपोर्ट गरे पनि अनुसन्धानमा उनीहरुले त्यो घटनालाई लुकाउन खोजेर सहमति गर्न बाध्य पारिएको खुलासा भएको थियो । उनले मेमा आत्महत्या गरेकी थिइन् ।
राष्ट्रपति मुन जेले घटनामा माफी माग्दै चिफ अफ स्टाफ जेनेर लि स्योङ योङको राजीनामा स्वीकृत गरेका थिए । योङले आफ्ना महिला अफिसरको मृत्युमा ‘गहिरो जिम्मेवारी’ लिँदै राजीनामा दिएको बताएका थिए । यो घटनामा गत जुनमा एक पुरुष सार्जेन्टलाई पक्राउ गरिएको थियो तर हाल कानुनी कारबाही चलिरहेको छ ।
अर्को घटनामा एक तेस्रो लिंगी सैनिकमाथि गैरकानुनी रुपमा भेदभाव गरेको कारण जबरजस्ती सेवा छाड्न बाध्य बनाएको एक अदालतले फैसलामा उल्लेख गरेको छ । ती सैनिक पछि आफ्नो घरमा मृत अवस्थामा फेला परेका थिए । दक्षिण कोरियाको पहिलो तेस्रो लिंगी सैनिकको मृत्युको कारणबारे आधिकारिक जानकारी दिइएको छैन । तर, उनले आत्महत्या गरेको समाचारहरु प्रकाशित भएका थिए ।
दक्षिण कोरियाको सेनामाथि आफ्ना महिला सैनिकको सुरक्षा गर्न नसकेको आरोप लाग्दै आएको छ । सेनामा यौन दुर्व्यवहारका घटना बाहिर आएपछि सांसदहरुले यो वर्ष कानुन पारित गर्दै ती मुद्दाको सुनुवाई नागरिक अदालतमा गर्नुपर्ने बनाएको छ । :बीबीसी
वि.सं.२०७८ असोज २२ शुक्रवार १३:४२
















