१४ यात्रु सवार भएर गुडिरहेको ईभी गाडी बाराकाे जंगलमा आगजनी
मानवीय क्षति भएन
वि.सं.२०८२ माघ ३ शनिवार १०:४८

बारा-बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका–१६ काशघाटस्थित पूर्व–पश्चिम राजमार्गको जंगल क्षेत्रमा गुडिरहेको विद्युतीय सवारीसाधन (EV) मा आगलागी भएको छ।
माघ ३ गते बिहान करिब ३ः३० बजे पोखराबाट काकरभिठ्ठातर्फ जाँदै गरेको EV नेपाल यातायात प्रा.लि. काकरभिठ्ठाबाट सञ्चालित प्र.१–०१–००१ ख ४७२० नम्बरको FOTON कम्पनीको EV गाडीमा अचानक आगलागी भएको हो। उक्त गाडीमा चालकसहित १४ जना यात्रु सवार रहेका थिए ।
आगलागी भएलगत्तै चालकको सतर्कताका कारण गाडी सडक छेउमा रोकी यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकालिएको थियो । घटनामा कुनै पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
सबै यात्रुहरूलाई वैकल्पिक सवारीसाधनमार्फत गन्तव्यतर्फ पठाइएको थियो ।
घटनाबारे बिहान ४ः३० बजे सोही गाडीमा सवार यात्रुबाट जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय निजगढ, बाराबाट ५ जनाको प्रहरी टोली तत्काल घटनास्थलमा खटिएको थियो ।
प्रहरी टोली घटनास्थल पुग्दा गाडी पूर्णरूपमा जलेर क्षतिग्रस्त भइसकेको र आगो नियन्त्रणमा आइसकेको अवस्था रहेको जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
वि.सं.२०८२ माघ ३ शनिवार १०:४८

















