skip this

निजगढसहित पाँच वटा स्थानिय तहमा समिति गठनमा अनियमितताको आरोप, निर्वाचन संयोजकलाई २४ घण्टे स्पष्टीकरण

210 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय निर्वाचन आयोगले बारा जिल्लाका पाँच स्थानीय तहका निर्वाचन प्रक्रियामा गम्भीर अनियमितता भएको भन्दै सम्बन्धित निर्वाचन समिति संयोजकहरूसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण तथा प्रमाण पेश गर्न निर्देशन दिएको छ।

आयोगका प्रमुख भुवन के.सी.द्वारा जारी पत्रअनुसार महागढीमाई नगरपालिका, आदर्श कोतवाल गाउँपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका तथा निजगढ नगरपालिकाको निर्वाचन प्रक्रियाबारे विभिन्न उजुरीहरू प्राप्त भएपछि आवश्यक अध्ययन तथा अनुसन्धान सुरु गरिएको जनाएको छ।

आयोगका अनुसार स्थानीय तह अन्तर्गतका नगरस्तरीय अधिवेशन सम्पन्न भएपछि निर्वाचन प्रक्रियामा गम्भीर कैफियत देखिएको भन्दै उजुरीहरू दर्ता भएका हुन्। उजुरीको गाम्भीर्यलाई ध्यानमा राख्दै आयोगले सम्बन्धित संयोजकहरूलाई निर्वाचन कार्यक्रमदेखि निर्वाचन परिणाम घोषणा सम्मका सम्पूर्ण विवरण, समय तालिका, स्थान तथा प्रक्रिया खुल्ने प्रमाणसहित लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो।

प्राप्त उजुरीहरूमा उम्मेदवारी आह्वान नगरिएको, मतदाताको नामावली सार्वजनिक नगरिएको, दाबी–विरोधको प्रक्रिया अवलम्बन नगरिएको, सदस्यता रुजु प्रक्रिया अपारदर्शी बनाइएको तथा पार्टी विधान र निर्वाचन कार्यविधिले तोकेका न्यूनतम प्रक्रियासमेत पालना नगरिएको आरोप लगाइएको छ।

त्यसैगरी निर्वाचनको समय र स्थान सम्बन्धी अनियमितता तथा अन्य विविध विषयमा समेत कैफियत उठाइएको आयोगले जनाएको छ।

आयोगले तोकिएको समयभित्र तथ्य र प्रमाणसहित स्पष्ट जवाफ पेश नगरे आवश्यक निर्णय तथा थप कारबाही प्रक्रिया अगाडि बढाइने संकेत दिएको छ।

nijgadh-supermart-adz1200-630