skip this

भारतसँग नयाँ सम्बन्धको सन्देश लिएर दिल्ली पुगे शिशिर खनाल, विकास र सहकार्यमा जोड

51 shares
oil-nigam-amlekhgunj-adv.jpeg

परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका क्रममा भारतको नयाँ दिल्लीमा छन्। उनले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको तर्फबाट नेपाल–भारत सम्बन्धलाई पुराना राजनीतिक विवादभन्दा माथि उठाएर विकास, सहकार्य र व्यवहारिक परिणाममा केन्द्रित बनाउने सन्देश दिएका छन्।

भारतीय सञ्चारमाध्यम एनडीटीभीका वरिष्ठ कार्यकारी सम्पादक आदित्य राज कौलसँगको विशेष अन्तर्वार्तामा मन्त्री खनालले नेपालमा भएको पछिल्लो राजनीतिक परिवर्तन, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय तथा भारतसँगको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने योजनाबारे खुलासा गरेका छन्।

उनले भारतले पछिल्ला वर्षहरूमा हासिल गरेको तीव्र आर्थिक प्रगतिबाट नेपालले अपेक्षित लाभ लिन नसकेको स्वीकार गर्दै अब विकासको अवसर गुम्न नदिने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार रास्वपाले सुशासन, पारदर्शिता र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेर राजनीति गरिरहेको छ।

खनालले रास्वपाको सफलताको आधार युवा पुस्ताले अघि बढाएको ‘जेनजी आन्दोलन’ रहेको बताए। उक्त आन्दोलनले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जवाफदेही र पारदर्शी शासनको माग गरेको उनको भनाइ छ। “युवाहरू परम्परागत राजनीतिबाट निराश थिए। उनीहरूले भ्रष्टाचारमुक्त र जिम्मेवार शासन चाहेका थिए,” उनले भने।

करिब चार वर्षअघि स्थापना भएको रास्वपाले संसद्मा भ्रष्टाचारका मुद्दामा दबाब सिर्जना गर्दै आफूलाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा स्थापित गरेको थियो। सोही कारण चुनावमा विशेषगरी युवाहरूले पार्टीलाई बलियो समर्थन दिएको खनालको दाबी छ।

नेपाल–भारत सम्बन्धबारे बोल्दै उनले विगतमा आन्तरिक राजनीतिक स्वार्थका लागि अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रयोग गरिएको स्वीकार गरे। तर अब तथ्य, प्रमाण र आपसी हितका आधारमा सम्बन्ध विस्तार गर्ने नीति अपनाइने उनको भनाइ छ।

भारतका विदेशमन्त्री एस. जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँगको भेटमा खनालले ऊर्जा, कनेक्टिभिटी, डिजिटल सहकार्य, शिक्षा र प्रविधिलाई प्राथमिकतामा राखिएको एजेन्डा प्रस्तुत गरेका छन्।

ऊर्जा क्षेत्रमा नेपालले जलविद्युत् उत्पादन तथा निर्यातलाई थप विस्तार गर्ने लक्ष्य राखेको छ। भारत, नेपाल र बंगलादेशबीचको त्रिपक्षीय ऊर्जा सहकार्यलाई उनले क्षेत्रीय साझेदारीको महत्वपूर्ण उदाहरणका रूपमा उल्लेख गरे।

त्यसैगरी जनकपुर–अयोध्या रेलमार्ग, नयाँ हवाई सम्पर्क विस्तार तथा सडक पूर्वाधार सुधारमार्फत दुई देशबीचको आवागमन सहज बनाउने विषयमा पनि छलफल भएको छ।

डिजिटल क्षेत्रमा यूपिआईमा आधारित भुक्तानी प्रणालीलाई औपचारिक रूप दिइएको छ, जसले सीमापार डिजिटल कारोबारलाई सहज बनाउने अपेक्षा गरिएको छ। साथै, नेपाली र भारतीय संस्थाबीच कृत्रिम बौद्धिकता (एआई) तथा भाषा प्रविधिमा सहकार्य बढाउने सम्भावनाबारे पनि छलफल भएको खनालले बताए।

शिक्षा क्षेत्रमा नेपालमा आईआईटी वा एम्सजस्ता प्रतिष्ठित भारतीय संस्थाका क्याम्पस स्थापना गर्ने सम्भावनासमेत अघि सारिएको छ। यसलाई दुई देशबीचको शैक्षिक सहकार्यको नयाँ अध्यायका रूपमा हेरिएको छ।

प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको निम्तो प्राप्त भइसकेको पुष्टि गर्दै खनालले हाल सरकार आन्तरिक एजेन्डा र विकासका काममा केन्द्रित रहेकाले उपयुक्त समयमा उच्चस्तरीय भ्रमण आदानप्रदान हुने विश्वास व्यक्त गरे।

उनका अनुसार दिल्ली भ्रमणले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने आधार तयार गर्नेछ, जहाँ भावनाभन्दा बढी विकास, सहकार्य र परिणामलाई प्राथमिकता दिइनेछ।

nijgadh-supermart-adz1200-630