skip this
एक करोडभन्दा बढी मूल्यका करिब ५०० मोबाइल र स्मार्ट वाच नष्ट
विद्यार्थी संगठनद्वारा क्षतिपूर्ति र न्यायको माग

सिरहामा जफत गरिएका ५०० मोबाइल नष्ट गरेको घटनाविरुद्ध विद्यार्थी आन्दोलन, क्षतिपूर्तिको माग गर्दै प्रदर्शन घोषणा

72 shares
oil-nigam-amlekhgunj-adv.jpeg

सिरहामा एसईई र कक्षा–१२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन तथा स्मार्ट घडीहरू प्रशासनले पानीमा डुबाएर नष्ट गरेको घटनाको विरोधमा विद्यार्थी संगठनहरूले आन्दोलनको घोषणा गरेका छन्।

संयुक्त विद्यार्थी संगठनको आह्वानमा सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिरहाको अगाडि प्रदर्शन गरिने भएको हो। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सूचनामा सम्पूर्ण विद्यार्थीलाई प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ।

‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य नारासहित आयोजना गर्न लागिएको प्रदर्शनको उद्देश्य नष्ट गरिएका मोबाइल तथा स्मार्ट घडीको उचित क्षतिपूर्ति उपलब्ध गराउन, विद्यार्थीमाथि भएको भनिएको दमनको अन्त्य गर्न तथा पीडित विद्यार्थीलाई न्याय दिलाउन दबाब सिर्जना गर्नु रहेको जनाइएको छ।

अनेरास्ववियु मधेश प्रदेश संयोजक सतिशचन्द्र सिंहका अनुसार सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु र विद्यार्थीका माग सम्बोधन गराउन दबाब दिन प्रदर्शन गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय सिरहाले गत चैतमा सम्पन्न एसईई र कक्षा–१२ परीक्षाका क्रममा परीक्षार्थीहरूबाट बरामद गरिएका करिब ५०० मोबाइल फोन तथा स्मार्ट घडी हालै नष्ट गरेको थियो। प्रशासनले परीक्षाको मर्यादा कायम राख्न तथा भविष्यमा यस्ता उपकरणको दुरुपयोग रोक्न उक्त कदम चालिएको जनाएको छ।

प्रशासनका अनुसार बरामद सामग्रीमा सात वटा आईफोन, ४८९ वटा विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल फोन र पाँच वटा स्मार्ट वाच रहेका थिए। ती उपकरणहरूको अनुमानित बजार मूल्य एक करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ।

यसअघि मधेश प्रदेशकी तत्कालीन शिक्षामन्त्री रानी शर्मा तिवारीले परीक्षामा मोबाइल प्रयोग भएको पाइए कडा कारबाही गरिने चेतावनी दिएकी थिइन्। सोही आधारमा जिल्ला परीक्षा समन्वय समिति सिरहाले मोबाइल व्यवस्थापनका लागि छुट्टै उपसमिति गठन गरी बरामद उपकरण नष्ट गर्ने निर्णय गरेको जनाएको छ।

शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका परीक्षा शाखा अधिकृत राजदेव यादवको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय समितिले जिल्ला प्रहरी कार्यालय परिसरमा मोबाइल तथा स्मार्ट वाचहरू २४ घण्टासम्म पानीमा डुबाएर राखेपछि पूर्ण रूपमा प्रयोग गर्न नसकिने अवस्थामा पुर्‍याई फुटाएर नष्ट गरेको थियो।

उपसमिति संयोजक यादवका अनुसार बरामद उपकरण पुनः प्रयोग हुन नसक्ने गरी नष्ट गर्ने निर्णय गरिएको थियो। तर प्रशासनको उक्त कदमप्रति अभिभावक, कानुन व्यवसायी तथा विद्यार्थी संगठनहरूले गम्भीर आपत्ति जनाउँदै क्षतिपूर्ति र न्यायको माग गरेका छन्।

यसै विषयलाई लिएर अब सिरहामा विद्यार्थी आन्दोलनको तयारी तीव्र बनेको छ।

nijgadh-supermart-adz1200-630