युवापुस्तामा सबैभन्दा बढी कोरोना संक्रमण, वृद्धवृद्धामा पनि संक्रमण दर बढ्दो
वि.सं.२०७८ माघ १० सोमवार १७:३१

काठमाडौं : नेपालमा दैनिक झैं कोरोना संक्रमणले ‘रेकर्ड ब्रेक’ गर्दै आएको छ । नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै युवा पुस्तामा संक्रमण भएको पाइएको छ । गएको २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका १९ सय १० जना तथा ३१ देखि ४० वर्ष उमेर समूहका १५ सय २५ जनामा संक्रमण पुष्टि भएको छ ।
सबै उमेर समूहलाई संक्रमण पुष्टि भएपनि ठूलो मात्रामा युवाहरु संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । गएको साता पीसीआर परीक्षण गरेका मध्ये करिब ५० प्रतिशतलाई संक्रमण पुष्टि भएको छ । माघ २ देखि ९ गते सम्मको तथ्याङ्क हेर्दा २१ देखि ३० वर्ष उमेर समूहका हालसम्म २२ हजार ५७३ जना संक्रमित भएका छन् । त्यस्तै, ३१ देखि ४० वर्षसम्म १८ हजार ११७ जनामा संक्रमण पुष्टि भएको छ ।
बालबालिकाको संक्रमित अवस्था
अघिल्लो लहरमा भन्दा कोरोना महामारीको तेस्रोे लहरमा बालबालिकामा संक्रमण दर बढेको छ । यस्तै, संक्रमण भई अस्पतालमा भर्ना हुने बालबालिकाको संङ्ख्या पनि बढेको बालचिकित्सकहरुको भनाइ छ ।
यस्तै पछिल्ला दश दिनयता ६१ वर्षदेखि ८१ वर्षमाथि उमेरका मानिसमा कोरोना संक्रमणको दर बढेको छ ।
बृद्धबृद्धाको संक्रमित अवस्था
कोरोना संक्रमण दर युवा तथा बालबालिकामा भन्दा ६० वर्ष माथि उमेरमा संक्रमण कम भए पनि दैनिक संक्रमण क्रमशः बढ्दै गएको स्वास्थ्य मन्त्रालयको आँकडाले देखाउँछ । यस्तै, कोरोना संक्रमण भई अस्पताल भर्ना हुने दीर्घरोगी वृद्धवृद्धा बढिरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ओमिक्रोन भेरियन्टको डबल रुपमा म्युटेसन हुने भएकाले जटिल स्वास्थ्य समस्या भएकामा संक्रमण पुष्टि भएको खण्डमा घातक सावित हुन सक्ने भएकाले सचेत हुन चिकित्सकहरुको सुझाव छ । पछिल्लो समय मृत्यु हुनेमा ५० देखि ८० वर्ष सम्मका खोप नलगाएका, दीर्घ रोगीहरु रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारी बताउँछन् ।
सहप्रवक्ता अधिकारीका अनुसार नेपालमा डेल्टा भेरियन्टलाई ओमिक्रोन भेरियन्टले प्रतिस्थापन गरेको पाइएको छ । कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्ट रहेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३२ नमूनाको जिन सिक्वेन्सिङ गर्दा २८ नमुना ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ माघ १० सोमवार १७:३१

















