गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई संसदीय समितिको निर्देशन
वि.सं.२०७९ जेठ १७ मंगलवार २१:३०

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले रेल पूर्वाधार आयोजनाको शुरुआत भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाई काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।
राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको खाका बनाई प्राथमिकताका आधारमा गुणस्तरीय रुपमा आयोजना अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् । उनले जयनगर-जनकपुर-कुर्था-बर्दिबास हुँदै निगजढसम्मको निर्माणाधीन रेल पूर्वाधारको प्रारम्भिक ट्रयाकमा गुणस्तरको कमी देखिएको भन्दै उपयुक्त समयमा स्थलगत अनुगमन गरिने बताइन् ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गुरुयोजना नबनाई आयोजना शुरु गर्दा समस्या देखिएको बताइन् । बर्दिबास हुदै निगजढसम्मको निर्माणाधीन रेल सरकारको प्राथमिकतामा रहेको र काठमाडौं रक्सौल रेलमार्गमा पनि थप अध्ययन भइरहेको उनले जानकारी गराइन् । काँकडभित्तामा रेगमार्ग निर्माणमा भने केही समस्या देखिन सक्ने उनको भनाइ थियो ।
त्यस्तै रेल विभागका महानिर्देशक दिपक कुमार भट्टराईले बर्दिबास हुँदै निगजढसम्मको ७० किलोमिटर ट्रयाक निर्माण कार्य भइरहेको हालसम्म ३२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । यसमा २५ अर्ब ९० करोड खर्च भइसकेको उनको भनाइ थियो ।
बैठकमा समिति सदस्यहरूले रेल मार्ग निर्माणमा कार्यमा उल्लेखीय प्रगति हुन नसकेको बताएका थिए । रेल तथा मेट्रो रेल विकास आयोजनाको वर्तमान अवस्थाको सम्बन्धमा समितिले छलफल गरेको हो ।
वि.सं.२०७९ जेठ १७ मंगलवार २१:३०


















