पैसा नहुँदा एक नेपाली महिलाको शव डेढ महिनादेखि कुवेतमै
वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:२७

दोहा : कुवेतमा एक नेपाली महिलाको शव करिब डेढ महिनादेखि अलपत्र परेको छ । झापा पृथ्वी नगर-९ घर भएकी सबिना किस्कुको शव आर्थिक अभावमा अस्पतालकै शव घरमा अलपत्र परेको हो ।
केही वर्षअघि गैरकानुनी बाटो हुँदै कुवेत प्रवेश गरी गैर कानुनी रूपमै काम गरिरहेकी किस्कुको गत अक्टोबर १९ तारिखमा मृत्यु भएको थियो । अकस्मात बिमारी भएर अस्पताल भर्ना गरिएकी उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
आर्थिक अभावले अलपत्र शव नेपाल पठाउन नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ र गैरआवसीय नेपाली संघ (एनआरएनए) कुवेतको सहकार्यमा सुन बहादुर तामाङको संयोजकत्वमा आर्थिक संकलन अभियान सुरु गरिएको नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले जनाएको छ ।
कुवेतबाट शव नेपाल पठाउन करिब एक लाख पचास हजार (३८५ कुवेती दिनार)आवश्यक पर्ने बताइन्छ ।यसअघि पनि एनआरएनएलगायतका विभिन्न सङ्घसंस्थाहरूले मोरङकी द्रौपती चौधरीको शव नेपाल पठाएको थियो । नेपालबाट श्रम स्वीकृति नलिई त्यहाँ पुगेकाहरुलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कुनै सहयोग नगरेको एनआरएनएले जनाएको छ ।
नेपालबाट कुवेतमा घरेलु कामदार पठाउन इजाजत नभए पनि विभिन्न म्यानपावर तथा एजेन्टहरूले कुवेत,भारत, बङ्गलादेश, दुबई तथा श्रीलङ्का लगायत अन्य देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारहरू पठाउने गरेका छन् ।
यसरी गैर कानुनी बाटो हुँदै खाडीका विभिन्न देशहरूमा पुग्ने कामदारले श्रम स्वीकृति हुँदैन र सम्बन्धित नेपाली दूतावासहरूले पनि शव नेपाल पठाउन लाग्ने खर्च नबेहोर्ने हुँदा धेरैको शव अलपत्र पर्ने गरेको छ । कतिको शव विदेशमै अन्तिम संस्कार गर्ने गरिएको छ ।
वि.सं.२०७८ मंसिर १४ मंगलवार १०:२७

















