skip this farak Kura Pravakar

पोखराको पर्यटन प्रवद्र्धनमा सहयोगी बन्दै म्याराथन दौड

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

कास्की । पोखराको पर्यटन प्रवद्र्धनमा यहाँ सञ्चालन हुँदै आएको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहयोगी बन्दै आएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चले बर्सेनी फागुनको पहिलो शनिबार सो प्रतियोगिता आयोजना गर्दैआएको छ ।

प्रतियोगितामा भाग लिन देशका विभिन्न ठाउँबाट धावक आउने गर्छन् । केही वर्षयता विदेशी धावक सहभागी बन्न थालेपछि यसको महत्व चुलिँदै गएको छ । हिमशृङ्खला, हरियाली पहाड, तालतलैयाजस्ता प्राकृतिक छटालाई नियाल्न खेलाडी दौडमा सहभागी बन्ने गरेका छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई विश्वसामु दौडको सहरका रुपमा चिनाउन म्याराथन आयोजना गर्दै आएको भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली बताउनुहुन्छ ।

“पोखरालाई खेलकुदको माध्यमबाट विश्व मानचित्रमा स्थापित गर्न म्याराथन दौड आयोजना गर्दैआएका छौँ”, उहाँले भन्नुभयो । प्रतियोगिता १६औँ संस्करणसम्म आइपुगेको छ ।

विजेताले रु चार लाख पुरस्कार प्राप्त गर्नेछन् । यो गत वर्षको तुलनामा दोब्बर हो । प्रतियोगितालाई सुजल डेरीको मुख्य उत्पादन सफल दूधले मुख्य प्रायोजन गरेको छ । प्रतियोगितामा दोस्रो हुनेलाई रु दुई लाख, तेस्रोले रु एक लाख तथा सान्त्वनातर्फ रु ३० हजार पुरस्कारको व्यवस्था छ ।

शनिबार पोखरा रङ्गशालामा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रतियोगिताको शुभारम्भ गर्नुहुने छ । पृथ्वीचोक, मुस्ताङचोक, विरौटा, छोरेपाटन भइ पुनः विरौटा हुँदै राष्ट्र बैंक चोक, लेकसाइड, डिहिको पाटन, सभागृह चोक, नयाँ सडक, हरिचोक, केआइसिंह पुल, नारायणस्थान, फूलबारी, पुरानोधारा, चाउथे, बलभद्र मावि, रामबजार भएर रङ्गशालामा आएर दौड समापन हुने मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले जानकारी दिनुभयो ।

प्रतियोगितामा १७ जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १४८ तथा भारत, केन्या, फ्रान्स, ओमन, आयरल्याण्ड र अमेरिकाका गरी १४ धावक सहभागी हुने बताइएको छ । महिला हाफ म्याराथनमा ३९ खेलाडी सहभागी हुने तिमिल्सिनाले बताउनुभयो ।

प्रथमलाई रु एक लाख, द्वितीयलाई रु ७५ हजार, तृतीयलाई रु ५० हजार र सान्त्वनातर्फ रु १५ हजारको व्यवस्था छ । म्याराथनको कूल पुरस्कार राशि रु १२ लाख ६ हजार छ । गत वर्ष सो राशि रु आठ लाख दुई हजार थियो ।

nijgadh-supermart-adz1200-630