आर्केष्ट्रा नाच हेर्न क्रममा दुई पक्षबीच झडप : एकको मृत्यु, दुई पक्राउ

वि.सं.२०७८ असोज ३ आइतवार १७:०२

महोत्तरी : महोत्तरीमा आर्केष्ट्राको विषयमा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका- २ स्थित तरहारी इमलिया टोल बस्ने ५० वर्षीय रामप्रसाद राय यादव रहेको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।
उनको उपचारको क्रममा मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।गएराति विश्वकर्मा पूजाको अवसरमा सोनमा गाउँपालिका वडा- ७ स्थिति मैनटोलामा आर्केष्ट्रा ल्याइएको थियो ।
सोही आर्केष्ट्रा हेर्न यादव समूहका व्यक्तिहरु गएपछि झगडा भएको थियो । सोही विषयलाई लिएर आज दुई पक्षबीच विवाद भयो । सो विवादले उग्ररूप लिएपछि एकअर्कालाई कुटपिट गर्दा उनी घाइते भएका थिए ।
घाइते भएका यादवको उपचारको क्रममा मृत्यु भएको छ भने उनका छोरा २४ वर्षीय मोदनारायण राय यादव र २२ वर्षीय सरोज यादव छन् । घाइते दुबैजनाको उपचार भइरहेको महोत्तरीका प्रहरी उपरीक्षक आचार्यले बताए ।
घटनामा संलग्न रहेको आरोपमा सोनमा गाउँपालिका वडा – ७ का ३५ वर्षीय मलेशी सदा र २८ वर्षीय नथु सदालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । यी बाहेक अन्य ४ जना बिच समेत कुटाकुट भएको थियो । तर यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

वि.सं.२०७८ असोज ३ आइतवार १७:०२