बाढीपीडितका लागि साना किसान कृषि सहकारी डुमरवानाको ३ लाख २६ हजार सहयोग
वि.सं.२०८३ भदौ १८ बिहीवार २०:१५

बारा-रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि साना किसान कृषि सहकारी संस्था लिमिटेड, डुमरवाना, बाराले रु. ३ लाख २६ हजार २४८ सहयोग गरेको छ।
संस्थाले सामाजिक तथा सामुदायिक उत्तरदायित्वअन्तर्गत बाढीपीडित परिवार तथा समुदायलाई मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको जनाएको छ।
सहकारीका अनुसार सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति तथा सेवा केन्द्र समितिका तर्फबाट एक पटकको बैठक भत्ताबापत रु. ४५ हजार ५००, संस्थामा कार्यरत कर्मचारीहरूको २ दिनको तलबबापत रु. ८० हजार ७४८ तथा संस्थाको तर्फबाट रु. २ लाख गरी कुल रु. ३ लाख २६ हजार २४८ सहयोग गरिएको हो।
संस्थाले बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवार तथा समुदायप्रति सहानुभूति प्रकट गरेको छ।
सहकारीका अध्यक्ष प्रदीप सिंह बरालद्वारा जारी अपिलमा विपत्तिको समयमा पीडित परिवारप्रति सहयोग, सहकार्य र मानवीय सेवामा ऐक्यबद्धता जनाउन सम्पूर्ण शेयर सदस्यहरूलाई आग्रह गरिएको छ।
वि.सं.२०८३ भदौ १८ बिहीवार २०:१५

















