मन्त्री साहको सचिवालयको खण्डन : पुरानो गाडीले विग्रेर हैरान भएपछि नयाँ गाडी खरिद गर्न आवश्यक
वि.सं.२०७८ भदौ १० बिहीवार १९:२८
काठमाण्डौं : प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहको सचिवालयले ‘विलासीता’ का लागि गाडी थप्न लागेको भन्दै प्रकाशित समाचारको खण्ड गरेको छ ।
समाचारहरुमा उल्लेख भएवमोजिम मन्त्रालयले विलासिताको लागि नभई मन्त्रालयको आवश्यकता अनुसार प्रकृयावमोजिम सवारी साधनलगायत खरिदका लागि पहल गरेको विहीबार प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ ।
बुधबार केहि अनलाइन न्युज पोर्टलहरुमा आएको समाचारको विषयमा यस मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गर्दै मन्त्री साहले ८ वटा गाडी प्रयोग गर्ने गरेको विवरण समेत कपोकल्पित र झुटा रहेको विज्ञप्तीमार्फत प्रष्ट पारको छ । विज्ञप्तीमार्फत टाटा कम्पनीको सफारी स्टोर्म र सुरक्षाकर्मीले एउटा पिक अप भ्यान मात्र प्रयोग गरेको जानकारी गराएको छ ।
विज्ञप्तीमा भनिएको छ –‘माननिय मन्त्रीज्युले प्रयोग गरिरहेको सवारी समेत हाल सहि अवस्था नरहेको जानकारी गराउदछौँ । अत्यावश्यक कार्यहरुको लागि हिड्दा सो गाडी बारम्बार बाटोमै बिग्रने र कार्यहरुमा बिलम्व हुँदा हैरानी खेप्नुपरेको हुँदा मन्त्रालयमार्फत सवारीको माग गरिएको सबैमा जानकारी गराउदछौ ।’
विज्ञप्तीमा मोबाइललगायतका सामग्री खरिद गर्ने सम्बन्धमा प्रकाशित समाचारहरु शतप्रतिशत झुटा, तथ्यहिन र कपोकल्पित रहेको सचिवालयले स्पष्ट पारेको छ ।
विज्ञप्तीमा निवर्तमान राज्यमन्त्री सरोज सिंह कुशवाहाले गाडी लगायत सामान फिर्ता नगरेको जनाईएको छ । बारम्बार पत्राचार ताकेता गर्दा पनि पुर्वराज्यमन्त्रीले सवारी साधन र अन्य सामग्री फिर्ता नगरेको हुँदा मन्त्रालयको कामकारवाही पनि प्रभावित भइरहेको विज्ञप्तीमा जनाईएको छ । सामग्रीहरु यथाशिघ्र बुझबुझारथ गरी लिने पनि विज्ञप्तीमा स्पष्ट पारिएको छ ।
विज्ञप्तीमा भनिएको छ–‘खरिद प्रकृया शुरु समेत नभइसकेको अवस्थामा तथ्यलाई बङ्ग्याएर प्रेषित भ्रामक समाचारका कारण आम जनतामा मन्त्रालय, सम्बन्धित मन्त्री मात्र नभई समग्र व्यवस्थाप्रति नै अविश्वासको वातावरण बन्न जान्छ । लामो संघर्ष र बलिदानीबाट प्राप्त यस व्यवस्थाप्रती सम्मान र प्रतिष्ठालाई जोगाउनु हामी सबैको कतव्र्य हो । यसर्थ, यसै विज्ञप्तीमार्फत सो समाचारहरुको खण्डन गर्दै सत्यतथ्यपरक समाचार सम्प्रेषण गरिदिनुहुन समग्र सञ्चारजगतलाई विनम्रतापुर्वक अनुरोध गर्दछौ ।’
हेर्नुस् विज्ञप्ती
वि.सं.२०७८ भदौ १० बिहीवार १९:२८