skip this

नेपालले शान्ति क्षेत्र घोषणाको प्रस्ताव ल्याउनु पर्छ : माओवादी सचिव कार्की

873 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालले परम्परागत राजनीतिक मान्यतालाई तोड्नु पर्ने बताएका छन् । उनले नेपालले परराष्ट्र नीति भनेको घरेलु नीति भएको र त्यसको प्रभाव बाहिर पर्ने बताए ।

शुक्रबार संवाद डबलीमा लेखक भानु भण्डारीद्वारा लिखित ‘भूराजनीति’ नामक पुस्तक विमोचनमा बोल्दै पूर्वसञ्चारमन्त्री समेत रहेका कार्कीले भने, “नेपाल जुन भौगोलिक अवस्थितिमा छ, त्यसका राम्रा र नराम्रा दुवै पक्ष छन् । मुख्य कुरा भनेको नेपालले कस्तो परराष्ट्र नीति बनाउँछ भन्ने कुरा हो । घरेलु नीतिको विस्तारित रूप नै परराष्ट्र नीति हो । नेपालले स्वतन्त्र परराष्ट्र नीति बनाउनुपर्छ ।” विगतमा भूराजनीतिको गाँठो परेको बेला नेपालले शान्ति क्षेत्रको क्षेत्रको प्रस्ताव ल्याएको बताउँदै पुनः त्यही अवस्था आएको उनले बताए ।

विगतको भन्दा दक्षिण एसियामा जटिल राजनीतिक अवस्था सिर्जना भएको बताउँदै कार्कीले भने, “आज दक्षिण एसियामा जटिल अवस्था सिर्जना भएको छ । अमेरिका आफ्नो बर्चस्व कायम राख्न चाहन्छ र त्यसलाई विस्तार गर्न चाहन्छ । बर्चस्व कायम राख्न र विस्तार गर्न अमेरिकाले चीनलाई बाधक देखेको छ । अर्कोतिर आफ्नो उद्देश्यका लागि अमेरिकाले भारतलाई रणनीतिक साझेदार बनाउन खोजेको छ । हाम्रा दक्षिणको छिमेकी अमेरिकाको साझेदार बन्ने र उत्तरको छिमेकी अमेरिकाको विरोधी बन्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा नेपालले आफ्नो सार्वभौमसत्तालाई सुनिश्चित गर्नको लागि स्वतन्त्रताको नीति लिनुपर्छ ।”

चीनले पुँजीवादी व्यवस्थामा आफ्नो भूमिका मात्रै नखोजेर त्यसलाई परिमार्जित गर्न खोजिरहेको कार्कीले बताए । तर उसका प्रतिद्वन्द्वी आजको विश्व व्यवस्थालाई चीनले धाराशाही बनाउन खोजेको आरोपसहित घेराबन्दी गर्न थालेको कार्कीले धारणा राखे । चीनले अगाडि सारेको बिआरआई परियोजना विश्व व्यवस्थालाई परिमार्जन गर्न ल्याइएको समेत कार्कीले बताउँदै नेपालले आफ्ना प्राथमिकताका क्षेत्र सुनिश्चित गरेर विदेशी सहयोग लिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै कार्कीले नेपालमा २०४६ सालयता यो वा त्यो बहानामा पुँजीवादी व्यवस्था चलिरहेको बताउँदै त्यसलाई ब्रेकथ्रु गर्नुपर्ने बताए । पुस्तकका लेखक भानु भण्डारीले नेपालका राजनीतिज्ञको अदूरदर्शिताका कारण देशमा खतरा पैदा भएको बताए । उनले भने, “हाम्रो नेतृत्व धेरै ठाउँमा चुकेको छ, देश, जनता र राष्ट्रियतालाई प्रधान राख्ने क्षमता हाम्रो नेतृत्वमा खस्किँदै गएको छ । विदेशी शक्तिको विश्वास बढी र आफ्ना देशका जनताको विश्वास कम गर्ने प्रवृत्ति बढ्दो छ, यसले देशका सार्वभौमसत्तामाथि खतरा मडारिरहेको छ ।”

विश्व अहिले अमेरिका र चीन–रुस गरी दुई शक्तिमा बाँडिएको बताउँदै भण्डारीले यो भित्र सैन्य खतरा र आर्थिक प्रतिस्पर्धा बढ्दै गएको बताए ।

nijgadh-supermart-adz1200-630